काठमाडौ ,३१ जेठ ।
संघिय गठबन्धन आवद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले सरकारले पछिल्लो पटक गठबन्धनको नाममा वार्ताका लागि आह्वान गर्दै पठाएको पत्रलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताउनु भएको छ ।
सिरहामा आज बिहान सन्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले सरकारको पत्र सकारात्मक रहेको भन्दै अब छिट्टै गठबन्धनको बैठक बसेर यसबारे ठोस धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो ।
सार्थक र परिणाममुखी वार्ताको लागि गठबन्धन तयार रहेको उहाँले बताउनु भयो । महसचिव सुमनले आफूहरु वार्ता र संवादद्वारा निकास खोज्न चाहेपनि सरकार गम्भीर नदेखिएकाले आन्दोलन लम्बिँदै गएको जिकिर गर्नुभयो ।
मधेश आन्दोलनका क्रममा घाइते भएकाको उपचार, मृतकलाई शहीद घोषणा, मुद्दा फिर्ता तथा गठबन्धनले सरकारलाई बुझाएको ११ बुँदे मागबारे सरकारको प्रारम्भिक धारणा आउने बित्तिकै आफूहरु वार्तामा बस्ने सुमानको भनाई थियो ।