काठमाडौ ३० जेठ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वमा गठित नयाँशक्ति नेपालको आज औपचारिक घोषणा हुदैछ । राजधानीको दशरथ रंगशालामा विषेश समारोहकाबीच पार्टीको औपचारिक घोषणा हुन लागेको हो ।
अबको निकास आर्थिक विकास’ भन्ने नारासहित आज मध्यान्न १२ बजे दशरथरंगाशालामा करिब एक लाख अभियान्तले सामुहिक रुपमा मुलुक निर्माणको सपथ खाँदै पार्टी घोषणा गरिने नयाँ शक्ति नेपालले जनाएको छ ।
त्यसअघि राजधानीका चार स्थानबाट बिहान ११ बजे सुरु हुने र्याली दशरथ रंगाशाला पुग्ने बताइएको छ । घोषणा सभामा सहभागी हुन मुलुक भित्र र बाहिरबाट अभियन्ता तथा प्रतिनिधि आउने क्रम जारी रहेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
घोषणा सभामा उपस्थित हुन नसकेका र विदेशमा रहेका अभियन्ताले समेत इन्टरनेट र प्रत्यक्ष प्रशारणको माध्यमबाट एउटै समयमा सपथ लिने देवकोटाले बताउनु भयो । पार्टीको उद्घाटन सत्रपछि हुने छलफल सत्रमा पार्टीको विधान, समृद्धिको खाका र राजनितिक दस्तावेज गरी तीन ओटा प्रतिवेदन हुने जनाएको छ ।
यसैबीच घोषणा सभाअघि हुने जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस् भन्नका लागि पैदलमार्गको बाटोबाट जुलुस निकाल्ने तयारी भएको छ ।ललितपूरको कुपनडोल, रत्नपार्क, माइतीघर र कालीमाटीबाट दशरथ रंगाशालामा पुग्ने जुलुस सडक पेटीबाट मात्र हिड्ने व्यवस्था मिलाएको नयाँ शक्ति नेपालले जनाएको छ ।
यस्तै यातायात व्यवस्था प्रभावित हुन नदिन पूर्व ट्राफिक प्रहरी प्रमुख गणेश राईको नेतृत्वमा १ हजार जनाको छुट्टै टिम खडा गरिएको छ । स्वयंसेवकलाई कुनैपनि अवस्थामा ट्राफिक जाम हुन नदिने व्यवस्था मिलाउन निर्देशन दिइएको सशस्त्र प्रहरीका पूर्व एआइजी नारायण पाण्डेले बताउनुभयो ।
यसैगरी रंगशालामा सहभागीलाई व्यवस्थित गर्न १ हजार ५ सय स्वयंसेवक खटाउने तयारी भएको सो पार्टीले जनाएको छ ।