काठमाडौ २९ जेठ ।
सरकारले एकतर्फी रुपमा शिक्षा विधेयक पारित गरेको भन्दै अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिले आज राजधानीमा विरोध र्याली निकाल्दै छ ।
राजधानीको शान्तिबाटिकाबाट दिउँसो दुई बजपछि सुरु हुने र्याली भद्रकाली, सहिदगेट, सुन्धारा हुदै पुनः शान्तिबाटिकामा नै आएर टुङ्गिने समितिका महासचिव दिनेश थापाले बताउनु भयो ।
व्यवस्थापिका संसदबाट पारित भएको शिक्षा सम्बन्धी आठौं संशोधन विधेयकले आफूहरुको माग सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
२०६३ सालको शिक्षा ऐन र सर्बोच्च अदालतको परमादेश कार्यन्वयन नगरेसम्म आफूको आन्दोलन जारी रहने महासचिव थापाले बताउनु भयो ।
सरकारले अस्थायी शिक्षकको माग सम्बोधन नगरी त्यसको विपरित एकलौटी ढङ्गले खुला परीक्षामा सामेल हुने वा सुविधा रोज्ने जस्ता कठोर शिक्षा विधेयक पारित गरेको समितिको आरोप छ ।