काठमाडौ ,२८ जेठ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग सम्वन्ध सुधारकै तत्कालीन राजदूतलाई फिर्ता बोलाएको दाबी गर्नुभएको छ ।
दुई दिने भारत भ्रमणका क्रममा आज दिल्ली पुग्नुभएको परराष्ट्रमन्त्री थापाले आज प्रेस क्लब अफ इण्डियाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दुई देशको सम्बन्ध सुधारका लागी तत्कालिन राजदुत उपाध्ययलाई फिर्ता बोलाएको बताउनु भयो ।
साथै उनले राजदूत फिर्ता बोलाउने क्रममा उनी र भारतीय सरकारमाथि कुनै आरोप नलगाएको जिकिर समेत गर्नुभयो ।
केपी ओली नेतृत्वको सरकारले हालै मात्र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइएको थियो ।
उहालाई फिर्ता बोलाउने निर्णय गर्ने क्रममा ओली सरकार ढाल्न प्रयास गरेकोसहित तीनबुँदे आरोप लगाएको थियो । तर, तत्कालीन राजदूत उपाध्यायलाई थमाइएको पत्रमा भने केही आरोप लगाइएको थिएन ।
थापाले भारतीय सरकारले नेपालमा अस्तिरता ल्याउन खोजेको दाबी यथार्थपरक नभएको पनि बताउनु भयो ।
दक्षिण एसियाली विश्वविद्यालय नयाँ दिल्लीमा भोली हुने दिक्षान्त समारोहमा सहभागी हुन उपप्रधानमन्त्री थापा भारत भ्रमणमा जानुभएको हो ।
भारत भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी शुष्मा स्वराजसँग भेटवार्ता गर्नुहुनेछ । आज साँझ दिल्लीमा हुने भेटमा नेपाल–भारत संयुक्त आयोगको नयाँ बैठकको मिति तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।
उपप्रधानमन्त्री थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख प्रतिपक्षी दल कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीसँग भेट्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यस्तै उहाँ दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनले नेपालको संविधान निर्माण पछिको अवस्थाबारे गर्ने अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ । थापा आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।