काठमाडौं ,२६ जेठ ।
नेकपा माओवादीले भोलि जेठ २७ गतेको लागि घोषित नेपाल बन्दको पूर्वासन्ध्यामा बुधबार उपत्यकामा मोटरसाइकल र्याली आयोजना गरेको छ ।
भोलिका लागि नेपाल बन्दको घोषित कार्यक्रम सफल पार्न मोटरसाइकल र्यालीको आयोजना गरिएको नेकपा माओवादीका केन्द्रीय सदस्य माइला लामाले बताए ।
आज बेलुका ५ बजे कोटेश्वर तीनकुनेबाट शुरु भएको मोटरसाइकल र्याली कोटेश्वर हुँदै ललितपुरको सात दोबाटोमा पुगिसकेको केस लामाले जानकारी दिए । र्यालीको नेतृत्व माओवादीका पोलिटब्यूरो सदस्य एवं केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले गरेका छन् ।
र्याली सात दोबाटो पुगेर कुपण्डोल हुँदै रत्नपार्कस्थित शान्तिबाटिका पुगेर कोण सभामा परिणत हुने बताइएको छ । कोण सभा माओवादी नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
राष्ट्रिय स्वाधीनता, राष्ट्रियता र जनजीविका विषयलाई लिएर संघर्षमा रहेका आफ्ना दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई राज्यले देशभर गिरफ्तार गरी दुःख दिएको, झुठा मुद्दामा फसाएको, जेल हाल्ने काम हर्कत जारी राखेको भन्दै भोलि जेठ २७ गते माओवादीले नेपाल बन्दको घोषणा गरेको छ ।

