काठमाडौं ,२६ जेठ ।
सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को चीन भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले यहि जेठ २८ मा हुन लागेको उपराष्ट्रपति पुनको चीन भ्रमण स्वीकृत गरेको बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उपराष्ट्रपति पुनले यही जेठ २८ गतेदेखि असार २ गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैहुनुहुन्छ ।
यसैगरी सरकारले केही सचिवहरुको सरुवा पनि गरेको छ । विज्ञान मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिचाईंमा र सिचाईं सचिव अनुपकुमार उपाध्यायलाई विज्ञान मन्त्रालयमा सरुवा गरिएको छ ।
सरकारले स्वास्थ्य सेवाको ११ औं तहमा भोगेन्द्रराज डोटेल, झलक शर्मा पौडेल र चन्द्रदेव महतोलाई बढुवा पनि गरेको छ ।
यसैगरी सरकारले २०६२÷०६३ को जनआन्दोलमा घाइते भएकी झापाकी सिन्धु उप्रेतीको उपचारका लागि १६ लाख ५६ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ । उप्रेतीको हाल थाइल्याण्डमा उपचार भइरहेको छ ।
उप्रेतीको उपचारका लागि सो रकम थाइल्याण्डस्थित राजदूतावासमा पठाउने निर्णय भएको उद्योगमन्त्री पाण्डेले जानकारी दिनुभयो ।