काठमाडौं,२५ जेठ ।
दिवंगत अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । पर्यटन, सँस्कृति तथा नागरिक उड्डेयन मन्त्री आनन्द पोख्रेलले सरकारले गुरुङलाई राष्ट्रिय सम्मान दिने बताउनु भयो ।
गुरुङलाई श्रद्धाञ्जली दिन आज प्रज्ञाभवन कमलादी पुगेका मन्त्री पोख्रेलले भन्नुभयो ‘यसअघि उपचारमा पनि सरकारले सहयोग गर्दै आएको थियो,’ ‘अब राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिन्छ ।’
अम्बर गुरुङको योगदानको सरकारले उच्च मूल्यांकनसहित सम्मान गर्ने मन्त्री पोख्रेलले बताउनुभयो ।
यस्तै ,गुरुङलाई सम्मान दिन सरकारका मन्त्री र राजनीतिक दलका नेताहरु, सेना, प्रहरी, कलाकार, नेता, सर्बसाधारण लगायत पनि प्रज्ञाभवन पुगेका छन् ।
श्रद्धान्जीका लागी कमलादिमा पुग्नु भएका सहकारी तथा गरिबी निवारण मन्त्री चित्रहादुर केसीले अम्बर गुरुङ सधैं अमर रहने बताउनु भयो । सबै नेपालीको मनमा बस्न सफल गुरुङले नेपाली गीत संगीत क्षेत्रमा उल्लेखनीय योगदान र्पुयाएको बताउनु भयो ।
यसैगरी एमाले वरिष्ठ नेता झलनाथ खनालले नेपाली गीत संगीतका लागि अम्बर गुरुङ सँधै अमर रहेको बताउनु भयो । उहाले नेपाल र नेपाली संगीतमा र्पुयाएको योगदानलाई बिर्सनै नसकिने बताए । उनले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो ।