काठमान्डौं जेठ २३
आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईंदैछ । दिवसका अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाले बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो । दिवसको यस वर्षको नारा हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन, धन भन्ने तय गरिएको छ ।
बढ्दो वन विनासका कारण सिर्जित विभिन्न खाले वातावरणीय तथा ग्लोबल वार्मिङलाई न्युनिकरण गर्ने उदेश्यले यो दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा जनसंख्य तथा वातावरण मन्त्रालयले आज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
बिहान ९ बजे राजधानीको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
यसैबीच दिवसका अवसरमा शुभाकामना दिनु हुदै प्रधामन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गर्नु आजको पुस्ताको कर्तव्य भएको बताउनु भएको छ ।
अमूल्य र विशिष्ट जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई सम्पूर्ण शक्ति लगाई संरक्षण र सम्बद्र्धन गर्न प्रण गर्ने दिनका रुपमा दिवसलाई लिँदै नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको स्मरण गराए, शुभाकामना सन्देशमा उल्लेख छ ।
उहाँले मानवमात्रको हितका लागि प्राकृतिक स्रोतको प्रयोग गर्दा भावी पुस्ताको स्रोतमाथिको अधिकारलाई समेत ख्याल गरी बुद्धिमतापूर्ण उपयोग गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।