काठमाण्डौ ,२१ जेठ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको पूर्व तयारीका लागि ठेकेदार सिएएमसी कम्पनीका प्रोजेक्ट म्यानेजर याङ जेरी नेतृत्वको प्राविधिक टोली पोखरा पुगेको छ । टोलीले आजैबाट फिल्डको निरीक्षण शुरु गरेको छ ।
जेरी नेतृत्वको १३ सदस्यीय टोलीले आजैदेखि सरोकारवालसँग समन्वयलगायत काम थालेको हो । पहिलो चरणमा जग्गाको सिमाना छुट्टाउने देखि अन्य सर्वेक्षण गर्ने आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीले बताउनुभयो ।
जेरीले अस्थायी कार्यालय संचालन गरी सरोकारवालासंग समन्वयको काम गर्ने बताउनुभयो । इन्जिनियरदेखि अन्य व्यवस्थापन पक्षका कामहरु गर्ने टोलीमा रहेको भन्दै उहाँले नागरिक उड्डयन प्राधिकरणलगायत स्थानीयबासी र अन्य सरोकारवालासंग आवस्यक समन्वय गर्ने बताउनुभयो ।
सरकारले २०३२ सालमा छिनेडाडाँमा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थलका लागि अधिग्रहण गरेको थियो । तर सरकारसंग बजेट अभाव, दातृ निकाय फेला नपरेको र पछि नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनौटको निर्णयमा ढिलाइले विमानस्थल निर्माण अलपत्र थियो ।
चीनको एक्जिम बैंकले करीव २२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएपछि बिमानस्थल निर्माण प्रक्रिया अघि बढेर गत बैशाख १ मा शिलान्याससमेत भइसकेको छ । थप ६ सय २९ रोपनी जग्गा पनि अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ । केहीमात्रामा मुआब्जा दिन बाँकी रहेको र छिटै दिइने आयोजनाले जनाएको छ ।
प्रधानमन्त्री ओलीको हालै भएको चीन भ्रमणमा २ देशबीच ऋण सम्झौता भएपछि बिमानस्थल निर्माणको प्रक्रिया सुरु भएको हो । सुरु भएको ४ वर्षमा निर्माण सक्नुपर्ने प्रावधान छ ।
इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तराष्ट्रिय नागरिक उड्डयन अर्गानाइजेशनको मापदण्ड अनुसार ‘४डी’ बिमानस्थल बन्न लागेको हो । इपिसी मोडेलमा निर्माणको काम समयमै सक्नुपर्ने, समय र लागत थप्न नपाइने व्यवस्था छ ।