काठमाडौ जेठ,२१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाको दोषी माओवादी भएको बताउनु भएको छ । देउवाले सरकारको निर्णय अनुसार परिचालन भएका सुरक्षाकर्मीलाई द्वन्द्वकालका घटनामा दोषी देखाउन नमिल्ने तर्क गर्नू भयो ।
नेपाल मानव अधिकार संगठनले आज काठमाडौंमा गरेको कार्यक्रममा उहाले सरकारको निर्णय अनुसार परिचालित सुरक्षाकर्मीलाई मानवअधिकार उल्लंघन गरेको अभियोगमा जेल हाल्नुपर्ने अधिकार कर्मीहरुका अभिव्यक्ति आपत्तिजनक भएको बताउनु भयो ।
साथै सो अवसरमा उहाँले दश वर्षे द्वन्द्व नेपालको आन्तरिक समस्या भएकाले मेलमिलापको बाटोमा जानुपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्य्किरण गुरुङले द्वन्द्वकालीन घटनाका दोषीलाई आममाफी दिने कुरा आयोगलाई कुनै हालतमा स्वीकार्य नहुन बताउनु भएको छ ।
उहाँले आयोगको उद्देश्य मेलमिलापको वातावरण तयार पार्ने भएको तर त्यसको नाममा पीडितहरुको सहमति विना आममाफी दिने कुरा भने स्वीकार्य नहुने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले द्वन्द्वकालका सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगको मातहत ल्याइनुपर्ने अन्यथा आयोग गठन गरेको औचित्य पुष्टि नहुने बताउनु भएको छ ।