काठमाडौ २१ जेठ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण आज मुलुकका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
आफ्ना कार्यकर्ताविरुद्ध लगाइएको झुठा मुद्दा खारेजी तथा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव माओवादीले आज मेची अञ्चलका सबै जिल्ला लगायत चितवन र धादिङ जिल्ला बन्द आह्वान गरेको हो ।
बन्दका कारण मेची अञ्चलका पाँचथर, ताप्लेजुङ, इलाम र झापामा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने बजारहरु ठप्प छन् ।
विप्लव माओवादीले झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमन लाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी लगायतका नेता कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् ।
त्यसैगरी जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने मागसहित बन्द आह्वान गरेका हुन् ।
आज तीन अंचल मात्र बन्द राखेको विप्लव माओवादीले आगामी जेठ २७ गते नेपालबन्दको कार्यक्रम समेत राखेको छ ।