काठमाडौं ,१९ जेठ ।
तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश हुने गरि भएको नारायणहिटि दरबार हत्याकाण्ड भएको १५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजा बिरेन्द्र र रानी ऐश्वर्यासहित राजपरिवारका सदस्यहरुको हत्या भएको थियो ।
दरबारमा आयोजना गरिएको रात्रि भोजमा उच्च सुरक्षा घेराभित्र भएको सो हत्याकाण्डमा तत्कालीन राजपरिवारका १० सदस्यको हत्या भएको थियो ।
घटनामा राजा वीरेन्द्र,रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र , राजकुमारी जयन्ती , राजकुमारी शान्ती ,राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ । हत्याकाण्डपछि तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दिपेन्द्रले सो हत्याकाण्ड गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
तर सो प्रतिवेदनको बिश्वसनियतामाथि धेरैले प्रश्न उठाउदै आएका छन् । त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।