काठमाडौ ,१४ जेठ ।
प्रदेश सिमांकन लगायतका माग राख्दै राजधानी केन्द्रित आन्दोलन जारी राखेको मधेशी मोर्चा तथा विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धनले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
राजधानीको तीनकुनेस्थित संघिय समाजवादी फोरमको कार्यलयमा आज बसेको बैठकले आफूहरुको माग सम्बोधनका लागि सरकार गम्भिर नदेखिएको निष्कर्ष निकाल्दै आन्दोलनलाई निरन्ता दिने निर्णय गरेको हो ।
बैठकले तेस्रो चरणको आन्दोलनलाई अझै व्यवस्थित र शसक्त बनाउने निर्णय गर्दै त्यसबारे कार्य योजना बनाउन सचिवालयलाई जिम्मा दिएको छ ।
आज भोली सचिवालयले आन्दोलनका कार्यक्रम तय गर्ने र १७ गते पोखरामा हुने विरोध सभामार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने गठबन्धन आवद्ध दल मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिश्वर यादवले जानकारी दिनुभयो ।
गठबन्धनले सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको कार्यक्रम स्थगित गरी अहिले राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै आएको छ ।
भोली राजधानी केन्द्रित आन्दोलन सकिएपछि १६ गते विरगन्ज र १७ गते पोखरामा विरोध सभा गर्ने गठबन्धनको तयारी छ ।