काठमाडौ १४ जेठ ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि नयाँबानेश्वरस्थित संसद भवन बस्ने बैठकमा नियमवाली मस्यौदा प्रतिवेदनमा दर्ता भएका संशोधन प्रस्तावमाथि दफावार छलफल सुरु हुनेछ ।
नियमावली मस्यौदा समितिले संसदमा पेश गरेको फरक मत सहितको प्रतिवेदनमाथि सत्तारुढ र प्रतिपक्षी कांग्रेसले २–२ तथा नेपाल मजदुर किसान पार्टी, जनता दल र खम्बुवान राष्ट्रिय मोर्चाले छुट्टाछुट्टै संसोधन प्रस्ताव दर्ता गरेका छन् ।
सत्तारुढ दलका तर्फबाट संसदमा दर्ता भएको संसोधन प्रस्तावमा संवैधानिक ब्यवस्था अनुसार सुनुवाई समिति १५ सदस्यीय हुनु पर्ने उल्लेख छ भने कांग्रेसले पुरानै नियमावली अनुसार ७५ सदस्यीय हुनु पर्ने बताएको छ ।
दलहरुबीच सहमति हुन नसके विवादित विषयमा मतदान हुनेछ । मतदान प्रक्रियामा जाँदा सत्तारुढ दलहरुको बहुमत भएकाले संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने लगभग पक्का छ ।