काठमाण्डौ ,११ जेठ ।
प्रधानमन्त्री केपि शर्मा ओलीको आह्वानमा अहिले सर्बदलीय बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा संघिय गठबन्धनले गरिरहेको आन्दोलनका साथै बजेटका बिषयमा छलफल भइरहेको छ ।
बैठकमा वर्तमान राजनीतिक अवस्था, गठबन्धनको जारी आन्दोलनका साथै आगामी बजेटका विषयमा विशेष छलफल भइरहेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
वर्तमान अवस्थामा देखिएको गतिरोध र मधेसी आदिवासीको आन्दोलनको समाधान वार्ता र संवादबाट गर्ने उद्देश्यले सर्वदलीय बैठकको आह्वान गरिएको उहाले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सर्वदलीय भनेर आहृवान गर्नुभएको बैठकमा मधेसी मोर्चा आवद्ध दल भने अनुपस्थित रहेका छन् । आफूहरुको २६ बुँदे मागप्रति सरकार गम्भिर नभएको भन्दै मोर्चा बैठकमा सहभागी नभएका हुन् ।
तमलोपा उपाध्यक्ष हृदेस त्रिपाठीले मधेश आन्दोलनका क्रममा मारिएकालाई शहिद घोषणा, मुद्दा फिर्ता, घाईतेको निशुल्क उपचार जस्ता न्युनतम सर्त सरकारले पुरा नगरेसम्म बैठकमा बस्नुको औचित्य नभएको बताउनु भएको छ ।
बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महेश आचार्य रहेका छन् । यस्तै एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ प्रकाशसँगै रामबहादुर थापा बादल र मातृका यादव पनि उपस्थित छन् ।
हालै मात्र पार्टी एकतामा आउनु भएका बादल र मातृका पार्टी एकतापछि पहिलो पटक शीर्ष बैठकमा सहभागी हुनु भएको हो ।