काठमाडौ १० जेठ ।
नेकपा माओवादी केन्द्र महाधिवेशन समितिको बैठक आजपनि बस्दैछ । राजधानीको एक पार्टी प्यालेसमा दिउँसो १ बजेपछि बस्ने बैठकमा पदाधिकारी चयन तथा नेताहरुको कार्यविभाजनका विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकले पदाधिकारी चयन सहित पार्टी सचिवालय गठन गर्दै थप छलफल गरी नेताहरुको कार्यविभाजन गर्ने तयारी भएको वनमन्त्री समेत रहनु भएका पार्टी नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।
यसअघि हिजोको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्वलाई बहुपदीय प्रणालीमा लैजाने प्रस्ताव सहितको सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनमाथि आज थप छलफल गरी टुङ्गोमा पुर्याइने जनाएको छ । गत जेठ ६ गते एकिकृत माओवादी सहित १० माओवादी घटकबीच एकता भएपछि बनेको नेकपा माओवादी केन्द्रले केन्द्रिय समिति ६ सय ९९ सय सदस्यीय रहेको घोषणा गरिसकेको छ ।
बैठकमा आगामी मंसिरमा हुने स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम पार्टी बनाउन केन्द्रीय सदस्यहरुलाई गाउँ परिचालन गर्ने सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।