जेठ ७ ,ललितपुर । नेपाल भाषाको पत्रकारिता शुरुआत भएको ९० वर्ष पुगेको सन्र्दभमा शुक्रबार मातृभाषा पत्रकारिता दिवस मनाइयो ।
नेवाः पत्रकार राष्ट्रिय दबूले विविध कार्यक्रम आयोजना गरी सो दिवस मनाएको हो । नेपाल संवत् १०४५, वि सं १९८२ बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य ) बुद्ध धर्म र नेपाल भाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुआत भएको थियो ।
यही पत्रिका सम्भवतः गैर नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिले सम्मको अध्ययनले प्रमाणित गरेकोले मातृभाषा पत्रकारिता दिवस मनाइएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनुभयो ।
यस अवसरमा धर्माचार्यको जीवनीसग सम्बन्धित विभिन्न ऐतिहासिक दस्तावेजहरु र उहाँले निकाल्नुभएको पत्रिकाका विभिन्न अंकहरु प्रर्दशनी गरिएको थियो । त्यसैगरी ललितपुरको पुल्चोक स्थित धर्मादित्य धर्माचार्य (जगतमान वैध) को सालिकमा माल्यार्पण गरी प्रभात फेरी आयोजना गरियो ।
पुल्चोकबाट शुरु भएको प्रभात फेरी गाबहाल, मंङ्गलबजार ,च्यासल हुँदै भोलाखेलस्थित ज्यापू प्रज्ञा भवनमा समापन भएको थियो । सो ¥याली नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल मधेशी पत्रकार समाज र पत्रकारिता संग सम्बन्धित विभिन्न संघसस्थाहरुको सहभागिता रहेको थियो ।
समारोहमा वक्ताहरुले संविधानले देशमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन भनिसकेको अवस्थामा मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले प्रत्येक नेपालीलाई मातृभाषाको माध्यमबाट सूचना माग्ने र सुसुचित हुने हक रहेको बताउँदै सहभागी वक्ताहरुले त्यसको प्रत्याभूति गर्न राज्य तत्पर हुनुपर्ने बताए ।
समारोहमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिह, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संस्थापक अध्यक्ष चन्द्रसिह कुम्लुङ्ग, नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका अध्यक्ष सुरज व्यञ्जनकारले मातृभाषा पत्रकारिताको विकास लागि राज्यले नै मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्नेमा जोड दिदै आ–आफ्नो धारणा राख्नु भएको थियो ।