काठमाडौँ, ६ जेठ ।
एकीकृत माओवादी सहित बिभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुबीच आज एकिकरण हुदै छ ।
राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा एकता अधिवेशनको आयोजना गरि ५ सय ९९ सदस्यीय जम्बो केन्द्रिय समिति बनाएर औपचारीक रुपमा एकताको घोषणा हुदै छ ।
एकिकृत माओवादी ,नेकपा क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा बादल पक्षधर नेताहरु तथा मणि थापा नेतृत्वको कम्युनिष्ठ पार्टी र नेकपा माओवादीका पनि केहि नेताहरु बीच एकता हुदै छ ।
एकीकृत नेकपा माओवादीबाटै विभिन्न कालखण्डमा फुटेर गएका ती पार्टी केही वर्षपछि पुनः एकीकृत नेकपा माओवादी सँगै एकीकरण गर्न पुगेका छन् ।
एकतापछि बहुपदमा जाने निर्णय गरेपनि पदीय भागबन्डा मिल्न सकेको छैन । एकतापछि कसलाई कुन पद दिने भन्ने विषय भने अझै नटुंगिएकाले पदीय भागबन्डाका बिषयमा आज बिहान बैठक बसेर टुंगो लगाउने सहमति भएको नेतृ पम्फा भुसालले जानकारी दिनुभयो ।
स्रोतका अनुसार पदाधिकारी जिम्मेवारी बाँडफाँडमा एउटालाई एउटा पद दिँदा अर्को चिढिने र अर्कोलाई अर्को दिँदा पुनः अर्को चिढिने समस्याले विवाद हल हुन नसकेको हो ।
केन्द्रीय महाधिवेशन आयोजक समिति ५ सय ९९ सदस्यीय बनाउने भन्नेमा भने नेताहरूबीच मोटामोटी सहमति बनेको छ । अहिले रहेको पदमा खाली नै राखेर ५ सय ९९ सदस्यीय जम्बो केन्द्रीय समिति घोषणा गर्ने र पछि एकतामा आउनेलाई थप गर्दै जाने सहमति भएको एक नेताले बताए ।
२०६९ सालमा एमाओवादीबाट विभाजन हुँदा वैद्य नेतृत्वको नेकपा–माओवादीमा जुनियरहरू पनि केन्द्रीय सदस्य बनेको तर अहिले एकता गर्दा एमाओवादीका सिनियर पनि राज्य समितिमा रहने तर क्रान्तिकारीबाट आउने जुनियरलाई पनि नेता मान्नुपर्ने असहज परिस्थिति मिलाउनका लागि संख्या थप्दै जाँदा केन्द्रीय समिति संख्या बढेको हो ।
यता, नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पोलिटब्युरो सदस्य तिलक परियारले राजीनामा बुझाईसक्नुभएको छ । एकता अभियानमा साथ दिने बताउँदै एकता अधिवेशनको अघिल्लो दिन उहाले राजीनामा बुझाएका हुन् । चन्द माओवादीबाट झन्डै दर्जनको संख्यामा पार्टी एकीकरणमा सहभागी हुने बताइएको छ ।