काठमाण्डौ ५ जेठ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संघीय गठबन्धनले सुरु गरेको राजधानी केन्द्रीत आन्दोलनको कुनै तुक र औचित्य नभएको बताउनुभएको छ ।
काठमाडौंमा आज भएको एक कार्यक्रममा उहाँले गठबन्धनको आन्दोलन आवश्यकता नभएकोले आन्दोलनमा नागरिकको सहभागिता नरहेको उहाँले दाबी गर्नुभयो । गठबन्धन आन्दोलनबाट थाकेर अन्तमा वार्तामा फर्किन बाध्य हुने उहाँको भनाई छ ।
उहाँले नाकाबन्दी गरेर नागरिकलाई दुःख दिने गरी गरेको आन्दोलनको तुक नदेखेर उहाँहरुले काठमाडौंमा दबाब दिन आएको, सरकारलाई दबाब पुगेर नै संविधान संशोधन, सीमांकन मिलाउन राजनीतिक समिति र वार्ताका लागि लिखित आह्वान गरेको उहाँले बताउनुभयो ।
आन्दोलनले संविधानको जग हल्लाउने तथा स्वाभिमान र स्वाधिनतामा प्रश्न उठाएकोले त्यसमा सरकार नझुक्ने बताउनुभयो ।
संविधानमा कुनै विभेद नभएको दाबी गर्दै मन्त्री राईले अब पनि वार्तामा आएर समस्या समाधानमा नलागे सरकारले गठबन्धनको २६ बुँदे माग, संविधानमा त्यस सम्बन्धमा रहेको व्यवस्था र सरकारले त्यसका लागि गरेको कामको विवरण राखेर तथ्य सार्वजनिक गर्ने चेतावनी दिनुभयो ।