काठमाडौ ५ वैशाख ।
संविधान पुनरलेखनको माग राख्दै राजधानी केन्द्रित आन्दोलन सुरु गरेको मधेशी मोर्चा तथा विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धनको बैठक आज बस्दैछ ।
तिनकुनेस्थित संघिय समाजवादी फोरम नेपालको कार्यलयमा केहिबेरपछि सुरु हुने बैठकमा आन्दोलनका थप कार्यक्रमका विषयमा समेत छलफल हुने बताइएको छ ।
आजको बैठकले राजधानी केन्द्रित आन्दोलनलाई नै निरन्तरता दिने या विकेन्द्रीत गर्ने भन्ने विषयमा निर्णय गर्ने गठबन्धन आवद्ध दल संघिय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले जानकारी दिनुभयो ।
राजधानी केन्द्रित आन्दोलनमा गठबन्धन आवद्ध केही दलले असन्तुष्टी जनाएपछि काठमाडौ बाहेकका जिल्लामा पनि अन्दोलनलाई विकेन्द्रीकरण गर्ने गठबन्धनको तयारी छ ।
यसैबीच गठबन्धनले काठमाडौ केन्द्रित आन्दोलनको आज समापन गर्दैछ । शान्तिबाटिकामा दिउँसो २ बजे सभा सहित काठमाडौ केन्द्रित आन्दोलनको समापन गरिने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।
राजधानी केन्द्रित आन्दोलन अन्तरगत गठबन्धनले मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको थियो ।