काठमाण्डौ ,३ जेठ ।
राजधानी केन्द्रित आन्दोलन सुरु गरेको संघीय गठबन्धनले भोली बालुवाटार घेराऊ गर्ने भएको छ ।
माइतीघर मण्डला र हनुमानस्थानमा धर्ना दिएर लगातार दुई दिन सिंहदरबार घेराउ गरेको गठबन्धनले भोली बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने निर्णय गरेको हो ।
आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्ने क्रममा सिंहदरबारपछि वालुवाटार घेर्न लागेको गठबन्धनले जनाएको छ । माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरु प्रधानमन्त्री निवास वालुवाटार घेराउमा जाने गठबन्धनले जनाएको छ ।
असोज ३ गते संविधानसभाबाट संविधान जारी संविधानमा व्यवस्था भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै २९ दल आन्दोलनरत छन् । सुरुमा नेपाल–भारत सिमानामा आन्दोलन गरेका मधेस केन्द्रित दलहरुले अत्यावश्यक वस्तुको आपूर्तिमा असहज भई जनताको दैनिकीमा कठिनाइ भएको गुनासो आएपछि काठमण्डौं केन्द्रित आन्दोलन गरेका हुन् ।