विराटनगर, ३ जेठ ।
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सत्तापक्ष र प्रतिपक्षबीच संसदीय नियमावली सहमतिमै बनाउनुपर्ने विषयमा मतदान प्रक्रियामा जानुअघिसम्म पनि प्रयास जारी राखिने उल्लेख गर्नुभयो ।
सहमतिबाट नै संविधान कार्यान्वयनका लागि संसदीय नियमावली सहमतिमा जारी भएको अवस्थामा सकारात्मक सन्देश जनताबीच जाने भएकाले यस विषयमा सोच्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई गच्छादारको आग्रह छ ।
संविधानमा तोकिए बमोजिम संसदीय सुनुवाइ समितिको सङ्ख्या निर्धारण हुनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको र काँग्रेस तथा मधेसी मोर्चालाई निर्वाचनका लागि सकारात्मक हुनुपर्ने विषयमा जोड दिनुभयो ।
सङ्घीय गठबन्धनको आन्दोलनको सन्दर्भमा पत्रकारको जिज्ञासामा उहाँँले वार्ताबाट नै समस्याको समाधान हुने उल्लेख गर्दै सरकारले पटकपटक वार्तामा आउन आग्रह गरेकाले आन्दोलनमा जान नहुने धारणा राख्नुभयो ।