काठमाण्डौ, ३० बैशाख । सशस्त्र प्रहरी बलका रिक्त एआइजी पदमा बढुवाका लागि गरिएको सिफारिसविरुद्ध दुई डिआइजीले पुनरावलोकन समितिमा उजुरी दिएका छन् । डिआईजीद्धय उत्तम खडका र पुष्पराम केसीले उजुरी दिएका हुन् ।
बढुवा समितिको निर्णय चितबुझ्दो नभएको भन्दै उनीहरुले उजुरी दिएका हुन् । केही दिनअघि गृहसचिव नारायणगोपाल मलेगो अध्यक्षताको बढुवा समितिले डिआइजीद्धय शैलेन्द्र खनाल र जितबहादुर पुनलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
बढुवा समितिले गरेको निर्णयविरुद्ध चित नबुझेमा ७ दिनभित्र लिखित उजुरी दिनसक्ने व्यवस्था सशस्त्र प्रहरी वलको नियमावलीमा छ । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको पुनरावलोकन समितिका सदस्यमा मुख्य सचिव र कानुनमन्त्रालयका सचिव रहने व्यवस्था छ । उजुरीको विषयमा छानवीन लागि पुनरावलोकन समितिले गृहसँग सबै कागजातसमेत माग गरिसकेको छ ।