काठमाण्डौ,३० बैशाख । चीनले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई चीन भ्रमणको निम्तो दिएको छ । युनान प्रान्त जनकांग्रेसका स्थायी समिति उपप्रमुख चाङ पायरु नेतृत्वको प्रतिनिधि मण्डलले चीन भ्रमणको निम्तो दिएको हो ।
चीनियाँ टोलीले आज उपराष्ट्रपतिसँग बहादुर भवनमा भेट गरेर ‘चौथो चीन–दक्षिण एशिया व्यापार मेला तथा २४ औँ चीन कुन्मिङ आयात निर्यात व्यापार मेला’को उद्घाटन समारहेमा उपस्थित हुन निम्तो दिएको हो ।
निम्तो दिन बहादुरभवन पुगेका चिनियाँ टोलीलाई उपराष्ट्रपतिले धन्यवाद दिदै कार्यक्रममा सहभागी हुन सकारात्मक रहेको जवाफ दिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । उपराष्ट्रपति पुनले नेपाल र चीनको सम्बन्ध प्रगाढ बन्दै गएको र दुईपक्षीय उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ सुध्रिने विश्वास व्यक्त गर्नु भयो ।
उपराष्ट्रपतिको सचिवालयले जुन १२ देखि १७ सम्म युनान प्रान्तको कुन्मिङ सहरमा हुने सम्मेलनमा विशिष्ट अतिथिको रुपमा उपस्थित हुन निम्तो दिएको जानकारी दिएको छ ।