काठमाण्डौ ,३१ वैशाख।
सकारले २ वर्षसम्मका बच्चाका आमालाई विदेशमा घरेलु कामदारका रुपमा जान प्रतिवन्ध लगाएको छ ।सुत्केरी भएको दुई वर्षसम्म महिलाको शारिरीक अवस्था पनि कमजोर हुने भएकाले दूधे बच्चा छाडेर जान नदिने नीति सरकारले लिएको हो ।
घरेलु कामदार विदेश पठाउन संशोधन भएको निर्देशिकामा २ वर्षभन्दा कम उमेरका बच्चाका आमा विदेश जान नपाउने उल्लेख छ ।
लागू भइसकेको निर्देशिकाअनुसार अब दूधे बच्चा छाडेर घरेलु कामदारका रुपमा महिला विदेशिनका लागि सरकारले श्रम स्वीकृति दिने छैन । नेपालबाट बाहिरिने अधिकांश महिला घरलु कामदारका रुपमा खाडी मुलुक पुग्ने गरेका छन् । गाउँघरबाट बाहरिरिने महिलाहरु अधिकांश विवाहिता नै हुने गरेका छन् ।
काखको बच्चा छाडेर वैदेशिक रोजगारीमा जाँदा धेरै सामाजिक समस्याहरु देखिन थालेको भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । दूधे शिशुलाई छोडेर जाँदा घरपरिवारमा असमझदारी बढेर धेरै बालबालिका अलपत्र पर्ने र उचित स्याहार तथा संरक्षण नपाउने समस्या छ ।
रोजगार मन्त्रालयका अधिकारीहरुका अनुसार बच्चा नहुर्किँदै महिलाहरु वैदेशिक रोजगारीमा जाने क्रम रोक्न निर्देशिकामा यो व्यवस्था गरिएको बताउँछन् । मन्त्रालयका वैदेशिक रोजगार विज्ञ मधुबिलास पण्डित यो व्यवस्थापछि बच्चाको स्याहारको ख्याल नै नगरी महिला विदेशिने क्रम घट्ने बताउँछन् ।
यसैगरी घरलु कामदारका रुपमा बाहिरिने महिलालाई फोन सुविधा दिनुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ । अब घरेलु कामदारका रुपमा नेपाली महिला लैजाँदा रोजगारदाताले महिलालाई परिवारसँग सम्पर्क गर्न फोन सुविधा दिनुपर्ने अनिवार्य गरिएको छ ।