ताप्लेजुङ ,२८ बैशाक ।
ताप्लेजुङका विभिन्न गाविसमा पहिलो चरण अन्र्तगत आजदेखि जापानीज इन्सेफलाईटिस बिरुद्धको खोप अभियान शुरु भएको छ । १ देखि १५ बर्षसम्मका बालबालिकालाई लक्षित गरी खोप अभियान आजबाट शुरु भएको हो ।
पहिलो चरण अन्र्तगत जिल्लाका २६ गाविस र १ नगरपालिकाका २३,८३० र दोश्रो चरणमा २३ गाविसका ४३,३२६ गरी कुल ६७,१५६ बालबालिकालाई खोप दिईने लक्ष राखिएको छ । सोही अनुरुप आजदेखि विभिन्न गाविसमा खोप संचालन अभियान शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. युवराज पोख्रेलले जानकारी दिए ।
क्यूलेक्स जातको लामखुट्टेको टोकाईबाट लाग्ने जापानीज ईन्सेफलाईटिस रोगको खोप दिइएमा र राम्रो उपचार भए यो रोग निको हुन्छ । तर अधिकांश संक्रमित बिरामीको मृत्यू हुने डा. पोख्रेलले बताए । राम्रो उपचार भए पनि बिरामी संधैका लागि अपांग र नशामा समस्या हुन्छ ।
जापानीज ईनसेफलाईटिस रोग भाईरसको कारण लाग्ने भएको हुनाले, यसको पुरै उपचार हुँदैन । नेपाल सरकारको अन्तिम लक्ष रोगको निबारण नै हो तर तत्काललाई यस रोगका लागि नियन्त्रण गर्ने रणनीति लिइएको छ । त्यस कारण खोप अभियानमा १ देखि १५ वर्षसम्मका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन सम्पूर्ण सरोकारवालासँग आग्रह गरिएको छ ।
रोगको पहिचान गर्नको लागि नेपालमा २ स्थानमा मात्र ल्याबको सुबिधा भएको कारण रोग पहिचानमा पनि समस्या हुने गरेको डा. पोख्रेल बताउँछन् । काठमाण्डौ र बीपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरानमा मात्र जापानीज ईन्सेफलाईटिसको पहिचान हुन्छ ।
यो रोगको संक्रमण दर हिमाल, पहाडमा २८ प्रतिशत र तराई अनि आसपासका जिल्लामा सबैभन्दा बढि संक्रमण दर रहेको पाईन्छ । यो रोग भारत, नेपाल, थाईल्याण्ड र श्रीलंकामा सन १९७८ देखि र नेपालको तराई आसपास २४ जिल्लामा फाट्टफुट्ट देखिदै आएको छ ।
रोगको नियन्त्रण र रोकथामको सजिलो उपाय जापानीज ईन्सेफलाईटिस बिरुद्धको खोप र लामखुट्टेको टोकाईबाट मानिस र बंगुरलाई जोगाउनु नै हो ।