महोत्तरी ,२८ बैशाख ।
सिचाई मन्त्री उमेश कुमार यादवले विगतमा विभिन्न दलका थुप्रै मन्त्रीहरु सिँचाई मन्त्री बनेपनि तराई मधेशको बारेमा कसैले नसोचेको दावी गर्नुभयो ।
एमाओवादीले सिँचाई मन्त्रालय पाउने वित्तिकै सबभन्दा पहिले तराई मधेशका लागि विशेष कार्यक्रम ल्याएको बताउँदै उहाँले अझै यो कार्यक्रम असफल होस् भनि दलहरु लागेको दावी गर्नुभयो ।
महोत्तरीमा अखिल नेपाल किसान महासंघ (क्रान्तकारी) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समृद्ध तराई मधेश सिँचाई विशेष कार्यक्रमले बजेट शीर्षक पाए पनि हालसम्म बजेट नदिएर अर्थ मन्त्रालयले मधेशप्रति पूर्वाग्रही गरिरहेको भन्नु हुँदै उहाँले भन्नुभयो, बजेटका लागि मैले संघर्ष गरिरहेको छु । बजेट पाउनेमा म विश्वस्त छु ।’ अर्थ मन्त्रालयले बजेट नदिएपनि आफूले अन्य शीर्षकहरुबाट पनि यो कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत उहाँले जनाउनु भयो ।
समृद्ध तराई विशेष कार्यक्रम सफल पार्नका लागि मन्त्रालयले आफ्नो कार्य तीब्र रुपमा अगाडि बढाएको जानकारी गराउँदै उहाँले आफूले तराई मधेशका लागि मात्र होइन हिमाल पहाडका लागि पनि कार्यक्रमहरु ल्याएको बताउनु भयो । पहाडका लागि टार विशेष सिचाई योजना कार्यक्रम ल्याएको बताउँदै उहँले जनताको खेतसम्म सिँचाई पुर्याउनका लागि आफ्नो हरसम्भव प्रयास जारी रहने र यसमा किसानहरुको पनि पूर्ण सहयोग हुनुपर्ने बताउनुभयो ।
त्यस्तै चतरामा व्यारेज निर्माण, सुन कोशी कालीगण्डकी डाइभर्सनलगायतका निर्माण कार्यको प्रकृया पनि शुरु भएको पनि उहाँले जानकारी गराउनुभयो ।
एमाओवादीका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री यादवले एक फरक प्रसंगमा भन्नुभयो, तराई मधेशको मुक्ति एमाओवादीबाट मात्र सम्भव छ ।’ माआवादीले जनयुद्ध नगरेको भए आज धर्म निरपेक्षता, गणतन्त्र, संघीयताको अतोपतो हुने थिएन, गणतन्त्रको लागि एमाओवादीका अध्यक्ष प्रचण्ड लडि रहँदा राज्यले उहाँको टाउकोको मूल्य तोकेको थियो त्यो बेला महन्थ ठाकुर, राजेन्द्र महतोहरु कहाँ थिए भनि उहाँले प्रश्न गर्नुभयो ।
आज उहाँहरु नै माओवादीलाई प्रतिगामी शक्तिहरुसँग मिलेर घेरा हाल्ने प्रयास गरिरहेको आरोप पनि लगाउनुभयो । माओवादी बारुदको ढेरमा बसिरहेको छ, माओवादी समाप्त भयो भने त्योसँग अरु सबै समाप्त हुने उहाँले धारणा राख्नुभयो ।