काठमाडौ २७ वैशाख ।
निजी विद्यालयले मनोमानी शुल्क असुलेको गुनासो बढ्दै गएपछि सरकारले आजदेखि अनुगमनका लागि टोली खटाएको छ ।
शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा खटिने टोलीले निजी विद्यालयले लिइदै आएको मनपरी शुल्क, छात्रवृत्ति, शिक्षा ऐन निर्देशिका अनुसार विद्यालय सन्चालन भए नभएको विषयमा अनुगमन गर्ने बताइएको छ ।
मन्त्रालयले ६ वटा समुह बनाएर उपत्यकाका तीन जिल्लामा अनुगमन सुरु गर्न लागेको हो । अनुगमन टोलीमा शिक्षामन्त्रालयका सहसचिव, विद्यार्थी संगठनका नेता तथा अभिभावक रहने जनाएको छ ।
विद्यालयमा मापदण्ड विपरित शुल्क लिएको भेट्टिए सुधारका लागि सुझाव दिइने शिक्षामन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिनुभयो । निर्देशिका अनुसार सुझाव कार्यन्वयन नगरे विधि तथा प्रक्रिया अनुसार अघि बढ्ने उहाँले बताउनु भएको छ ।
गत वैशाख ६ गते शिक्षा मन्त्रालय र विद्यार्थी संगठन बीच भएको १० बुँदे सहमति कार्यान्वयमा विद्यार्थी संगठनले जोड दिए पछि शिक्षा मन्त्रालयले अनुगमन सुरु गर्ने तयारी भएको हो ।