ताप्लेजुङ ,२६ वैशाख ।
हिजो दिउँसो ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा दुई घर जल्दा ९६ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बजारको पूर्वी क्षेत्र कफी हाउसमा रहेको नेत्र प्रसाद बराल र पदम प्रसाद पौडेलको दुईघर जल्दा ९६ लाख मुल्य बराबरको क्षति भएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । बरालको घर सहित घरमा भएका सम्पुर्ण सामान र दुई वटा बाख्रा जल्दा ४९ लाख ३५ हजार साथै पौडेलको घर सहित घरमा भएका सामान जल्दा ४६ लाख ६५ हजार बराबरको क्षति भएको छ ।
आगो ताप्लेजुङ नगरपालिकाको दमकलको सहायतामा नेपाल आर्मी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र समुदायको प्रयासमा आगो दिउँसो ४ बजे नियन्त्रणमा लिईएको थियो । आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखा, दोखु उपसाखा र बराल बंश प्रतिष्ठानले पाल, खाध्यन्न, लताकपडा, भाडाकुँडा लगायतको राहत समाग्री वितरण गरेको छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा २०७१ साल चैत्र ९ गते पनि तोक्मे डाँडामा आगो लाग्दा करोडौँ धनजनको क्षति हुनको साथै दर्जनौँ घर जलेर नष्ट भएको थियो ।