काठमाण्डौ, १६ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सरकारले राष्ट्रिय परिचयपत्र लागू गर्न लागेकाले त्यसमा सहजीकरण गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ ।
व्यवस्थापिका–संसद सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले अनुमान र आशंकाका भरमा सरकारले काम नगर्ने, विधि प्रक्रिया र आवश्यकतालाई ध्यान दिएर काम गर्ने भएकाले कुनै कमजोरी हुन्छ कि भनेर अनुमान नगर्न समेत संसद र सांसदहरुको ध्यानकर्षण गराउनुभयो ।
राष्ट्रिय परिचयपत्र लागू गरेर त्यसबाट मुलुक, सरकार र आमनागरिकले लाभ लिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नागरिकको सुरक्षा र सुरक्षाका अन्य चासोमा सरकार प्रतिबद्ध छ । गोपनीयता कायम गरिन्छ, कुनै पनि सूचना चुहावट हुन दिइँदैन । अपनाउनुपर्ने सबै उपाय अवलम्बन गरिन्छ ।’
उहाँले दातृ निकायबाट प्राप्त हुने सहयोग रकमलाई पूर्णरुपमा सदुपयोग गरिने र राष्ट्रिय हितमा प्रयोग गरिने बताउनुभयो ।