रोल्पा ,१६ बैशाख ।
सिँचाइ मन्त्री एवं एमाओवादीका केन्द्रीय सदस्य उमेशकुमार यादवले अलग अलग रहेका माओवादीहरु एकीकृत हुनुको विकल्प नरहेको बताउनु भएको छ ।
क्रान्तकारी पत्रकार संघ रोल्पाले आज विहान आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले सविधान कार्यान्वयनमा देखिएको समस्या समाधानका लागी अलग रहेका सबै माओवादीहरु मिल्नुको विकल्प नभएकोमा उहाको जोड थियो ।
उहाले भन्नुभयो, माओवादी पार्टीहरु एकै ठाउमा आई संविधानका बाँकी कार्यभार पूरा गर्न र मधेशमा भएको बिभेदको बिरुद्ध लड्नुपर्नेमा जोड दिनुभयो ।
बिभेदका बिरुद्ध अहिले मधेशमा जारी आन्दोलनको अगुवाई गर्नेहरु प्रति आसंकित हुदै मन्त्री यादवले त्यसको नेतृत्व हिजो पनि माओवादीले नै गरेको र भविश्यमा पनि उसैले गर्ने दाबी गर्नुभयो ।
नेपालको परिवर्तनमा रोल्पालीले दिएको योगदान सदा स्मरणीय रहने बताउँदै मन्त्री यादवले रोल्पालीहरुको योगदान खेर नजाने धारणा राख्नुभयो ।
काठमाडौले रोल्पालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउँदै उहाँले रोल्पा, डोल्पा, बाजुरा, बाझागं जस्ता जिल्लालाई सरकारले विशेष रुपमा हेर्नुपर्ने बताउनुभयो ।
आज नेपाली जनताले जुन परिवर्तनको अनुभूति गरिरहेका छन् त्यसमा रोल्पाली जनताको मुख्य योदान रहेको स्मरण गर्दै उहाँले आफ्नो मन्त्रालय अन्तरगर्तबाट हुने कामहरुमा कुनै ढिलाई र लापरवाही नहुने पनि प्रतिवद्धता जनाउनु भयो ।
थवाङ्गमा सिचाईका लागि १ करोड १५ लाख रुपियाँ विनियोजन गरेको जानकारी गराउँदै माडीचौर नदी नियन्त्रणका लागि ५० लाख छुट्याइएको छ र यही एक दुई हप्तामा काम पनि शुरु हुने बताउनुभयो । फगाममा नदी नियन्त्रण कार्यक्रम पनि प्राथमिकतामा राखेको उहाँले जानकारी गराउनुभयो ।
उहाँले सिँचाइ विकास डिभिजन कार्यालय तथा सिँचाई मातहतका कार्यालयले गर्ने कामका लागि स्थानीयलाई जानकारी दिनका लागि स्थानीय भाषामा सुचना दिन मातहतका कार्यालय प्रमुखलाई निर्देशन पनि दिनुभयो । कार्यक्रमको बारेमा विज्ञापनमार्फत सूचना स्प्रेशन गर्न उहाँले निर्देशन दिनुभयो । सरकारी कार्यालयले दिने सुविधाको बारेमा स्थानीय जनतालाई जानकारी नभएका कारणले मन्त्री यादवले सूचनामा विशेष जोड दिनुभएको हो ।
रोल्पमा ३१ हजार चार हेक्टर खेती योग्य जमिन रहेपनि चार हजारमा मात्र सिँचाई पुगिरहेको छ । सो कार्यक्रमपछि मन्त्री यादवले कोट गाउँमा सिँचाइका लागि एक्सटेशन मर्मत गर्नुपर्ने त्यसलाई अवलोकन गर्नुभयो र मर्मत गर्नका लागि डिभिजन प्रमुखलाई निर्देशन पनि दिनुभयो । त्यस्तै माडी खोला नियन्त्रण गर्ने ठाउँको अवलोकन गरी त्यसलाई पनि समयमा पूरा गर्न निर्देशन दिनुभयो । माडीखोला नियन्त्रण भयो भने त्यही छेउमा रहेको खेलमैदान सुरक्षित हुनेछ । यो योजना सभामुख ओन्सारी घर्तीमगर र एमाओवादी नेता वर्षमान पुनको विशेष पहलमा आएको हो ।
मन्त्री यादवले बालकल्याण उच्च माध्यमिक विद्यालय, लिवाङका सुस्त श्रवण भएका विद्यार्थीको सहयोगका लागि १० हजार रुपियाँ सहयोग प्रदान गर्नुभयो ।