काठमाण्डौ, १३ बैशाख।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले हतियार बोकेर निरीक्षकसहित पाँच जना भारतीय प्रहरी नेपाल प्रवेश गरेको बिरोधमा आज प्रदर्शन गर्ने भएको छ ।
एक थान एके–४७ तथा त्यसमा लाग्ने गोलीको साथमा ‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला हिजो सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट पक्राउ परेका थिए ।
हतियार सहित अर्को मुलुकमा प्रवेश गर्नु प्रहरीको आचरण विपरित भएको भन्दै माओवादीले काठमाण्डौको शान्ति बाटिका, कैलाली, कञ्चनपुर, चितवन लगायतका ठाउँमा साँझ विरोध प्रदर्शन गर्ने भएको छ ।
माओवादीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रवक्ताले आज प्रेस विज्ञप्ति जारी गर्दै भारतीय प्रहरी टोली हातहतियार सहित नेपाल छिर्दा पनि सरकारले कुनै चाँसो र चिन्ता नलिनु आश्चर्यको विषय भएको बताउनुभएको छ ।
यो झनै देशको स्वाधिनतामाथी गम्भिर हस्तक्षेप र हेपाहा प्रवृति भएको उहाँको ठहर छ । उक्त भारतीय प्रहरी टोलीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसंग माओवादीले माग गरेको छ ।