काठमाडौ १२ वैशाख ।
करिब ९ हजार जनाको ज्यान जाने गरी मुलुकमा विनाशकारी भूकम्प गएको आज एक वर्ष पूरा भएको छ । गत वर्ष वैशाख १२ गते आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पमा परी ८ हजार ८ सय ५६ जनाले ज्यान गुमाएका थिए भने करिब २२ हजार बढी घाइते तथा थुपै्र मानिस बेपत्ता भएको गृहमन्त्रालयको तथ्यांक छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा सरकारी तथा निजी स्तरबाट आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले विनाशकारी भूकम्प गएको एक वर्ष पुगेको अवसरमा आज भूकम्प स्मृति दिवस मनाउदै छन् ।
सोही अवसरमा वैशाख १२ को भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा आज विशेष समारोहको आयोजना गरिएको छ । भूकम्प गएकै समय आज बिहान ११ बजेर ५६ मिनेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले बारपाकमा भूकम्प स्मृति पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि बिहान ८ बजेपछि राजधानीको धरहरा परिसरमा प्रधानमन्त्री ओलीको उपस्थितिमा भूकम्पमा परी दिवंगत भएकाहरुको सम्झनामा श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छ ।
यस्तै साँझ माइतीघर मण्डलामा भूकम्पमा परी ज्यान गुमाएका मृतकको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ भने सम्बन्धित प्रभावित जिल्लाहरुमा पनि दीप प्रजवलन कार्यक्रमको आयोजना गरिएको प्राधिकरणले जनाएको छ ।
विक्रम संवत १९९० सालपछिको ठूलो मानिएको यस भूकम्पबाट १४ अति प्रभावित सहित ३१ जिल्लामा क्षति पुर्याएको थियो । भूकम्पबाट निजी आवास तथा सरकारी भवन गरी करीब नौं लाख घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृहमन्त्रालयले जनाएको छ ।
यसैबीच गृहमन्त्रालयले आज कुनै सार्वजनिक बिदा नरहेको जनाएको छ । भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिए पनि सार्वजनिक बिदा भने नदिएको गृहमन्त्रालयका प्रवक्त यादव कोइरालाले जानकारी दिनुभयो ।
भूकम्प गएको दिनमा छुट्टी दिने भनेर गलत हल्ला फैलाएको भन्दै कोइरालाले सरकारले बिदा दिने बारे कुनै निर्णय नगरेको स्पष्ट पार्नु भयो ।