काठमाडौ १० वैशाख ।
आन्दोलनरत मधेशी मोर्चा र विभिन्न जनजाति दल आवद्ध संघिय गठबन्धनले दास्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
राजधानीको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गरी आगामी बैशाख १५ गते देखि ३१ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
यसअघि राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेको २७ दल आवद्ध गठबन्धनले तत्कालका लागि उपत्यका बाहिरका जिल्ला केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
गठबन्धनले आगामी बैशाख २१ गतेबाट काठमाडौं उपत्यकामा जनपरिचालन गर्दै प्रचारप्रसार सुरु गर्ने र जेठ १ देखि काठमाडौं जाउँ सिंहदरवार घेरौं अभियान सुरु गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार जनताप्रति उत्तरदायी नभएकाले पुनः आन्दोलनमा जानुको बिकल्प नभएको बताउनुभयो ।
बिगतमा अघि सारेको ११ सहित २६ बुँदे अवधारणामा आफुहरु अडिग रहेको बताउदै उहाँले संविधान पुर्नलेखनको आवश्यकता रहेको धारणा राख्नु भएको छ ।
गठबन्धनको घोषित कार्यक्रम अनुसार आगामी वैशाख १५ गते जिल्ला प्रसासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, १७ गते मुलुकभरका सरकारी कार्यालयमा कालो झण्डा गाड्ने र १९ गते अन्तराष्ट्रिय मजदुर दिवसका अवसरमा मुलुकभर र्याली, सभा गर्ने लगायत छन् ।
यस्तै २१ देखि ३१ गतेसम्म मुलुकका बिभिन्न प्रमुख शहरमा बिरोध सभा गर्ने पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तिमा उल्लेख छ ।
बिराटनगर, पोखरा, पाँचथर र धनगढीमा बैशाख २३ गते, वीरगञ्ज, नेपालगञ्ज र धनकुटामा २४ गते तथा बुटवल, जनकपुर, पाल्पा, ईलाम र सुर्खेतमा २५ गते बिरोध सभा गर्ने गठबन्धनले जनाएको छ ।
यस्तै २६ गते बिर्तामोड, हेटौडा र काभ्रेमा तथा २७ गते धरान, राजविराज, महोत्तरी, रौतहट, दाङ र कञ्चनपुरमा सभा गर्ने तय भएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
गठबन्धनले नेता परशुराम तामाङलाई प्रवक्ता तोकेको छ ।