काठमाडौं, बैशाख ९
अब गर्ने आन्दोलनको कार्यक्रमको विषयमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले संघीय गठबन्धनले आजको लागि तय गरेको विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँगको छलफलमा नेपालका लागि भारतीय राजदूत रञ्जित रे नजाने भएका छन् ।
गठबन्धनले आज होटल र्याडिसनमा कूटनीतिक भेला बोलाएको छ । सो भेलामा भारतीय राजदूत सहभागी नहुने दूतावास श्रोतले जनाएको छ । उनी आज संघीय गठबन्धनले बोलाएको छलफलमा नगई पोखरा जाने तयारी गरेको श्रोतले बताए ।
कूटनीतिक भेलाको विषयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र विवाद देखिएका कारण भारतीय राजदूत नजाने मनस्थितिमा पुगेको एक विशेष श्रोतले बतायो । भेलाको आयोजना संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूसँग सल्लाह नै नगरी गरेको भन्दै तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरू आन्दोलनको कार्यक्रम घोषणा गरेपछि विदेशी कूटनीतिकहरूसँग छलफल गर्नुपर्ने पक्षमा थिए ।
त्यसैगरी, आन्दोलनको स्वरूप र आन्दोलनको नेतृत्वको विषयमा पनि गठबन्धनमा विवाद छ । मधेशी मोर्चा आन्दोलनको नेतृत्व महन्थ ठाकुरलाई दिनुपर्ने पक्षमा छ भने यादव आफैँ नेतृत्व लिने तयारीमा छन् । त्यसैगरी संघीय गठबन्धन बनाउँदा मधेशको एजेण्डा ओझेलमा परेको र हिजो सहयोग नगरेका आदिवासी जनजातिले भोलि आन्दोलनको जस लिने सम्भावनाप्रति पनि उनीहरूप्रति संसय रहेको दूतावास श्रोतले जनाएको छ ।