काठमाण्डौ , ८ वैशाख । भारतीय नाकाबन्दी खुलेसँगै आपूर्ति व्यवस्था सहज हुदा मूल्यवृद्धि दर (मुद्रास्फीति) मा उल्लेख्य सुधार भएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको फागुन महिनामा मुलुकको आर्थिक तथा वित्तीय विवरणमा गत फागुनमा वार्षिक ‘विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर’ १० दशमलव २ प्रतिशत रहेको छ । यो उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको मुल्यको औसत वृद्धिदर हो ।
दुई महिना अघि गत पुसको तुलनामा यो करिब २ प्रतिशत विन्दुले कम हो । नाकाबन्दीका कारण आपुर्ति व्यवस्थामा अवरोध भएपछि गत पुसमा मुल्यवृद्धिदर १२ दशमलव १ प्रतिशत रहेको थियो ।
पछिल्ला केही महिना यता दक्षिणी सीमाका भन्सार नाकाहरुको अवरोध सहज हुँदै गएपछि इन्धन लगायत उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्था सहज भएकाले गत पुसदेखि मुल्यवृद्धिदर घट्न थालेको राष्ट्र बैंकले बताएको छ ।
गत फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १० दशलमव ३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर १० दशलमव २ प्रतिशत बढेको छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा मुल्यवृद्धिदर सबैभन्दा धेरै १२ दशलमव ७ प्रतिशतले र हिमाली भेगमा सबैभन्दा कम ८ दशलमव ५ प्रतिशतले बढेको छ ।