काठमाडौ ८ वैशाख । मधेशी मोर्चा तथा विभिन्न जनजाति आवद्ध दल सम्मिलित संघिय गठबन्धनको बैठक निष्कर्ष बिहिन भएको छ ।
आजको बैठकले आगामी आन्दोलनको खाका तयार पार्ने बताईएपनि आन्दोलनको स्वरुपबारे मतभेद कायमै भएपछि बैठकमा आन्दोलनबारे ठोस निर्णय हुन नसकेको मोर्चा आवद्ध दल सद्भावनाका नेता रामनरेश राय यादवले रेडियो मिर्मिरेलाई जानकारी दिनु भयो ।
यद्धपी आजको बैठकमा नेताहरुबाट आन्दोलनबारे बिभिन्न धारणा तथा सुझाव आएकोले बैठक सकारात्मक भएको पनि उहाँको भनाई छ । आन्दोलनको स्वरुप प्रदर्शन र धर्ना मात्रै गर्ने या सिंहदरबार प्रवेशमा अवरोध सहित अन्य कार्यक्रम पनि गर्ने भन्नेमा नेताहरुबीच मतभेद रहेको छ ।
आफूहरुको माग सम्बोधन गर्नमा सरकारले चासो नदेखाएको भन्दै असन्तुष्ट गठबन्धन दलले राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको छ ।
विगत ६ महिनादेखि आन्दोलनमा रहेका मधेशी मोर्चाले तराईमा एक प्रदेश सहित विभिन्न माग अघि सार्दै आएका छन् । गठबन्धनको बैठक भोली पुन बस्नेछ ।