काठमाण्डौ ,७ बैशाख ।
संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाको ‘हाई इनर्जी बिस्कुट’ खरिद प्रकरणमा छानबिन सुरु गरेको छ ।
सांसद तथा समिति सदस्य पवनकुमार सारडाको उजुरीका आधारमा समितिले छानबिन सुरु गरेको हो ।
समितिको आज बसेको बैठकले बिस्कुट खरिद प्रकरणका बिषयमा रक्षामन्त्रीहितका सम्बद्ध अधिकारीसंग छलफल गर्ने निर्णय गरेको छ । समिति सचिव सुदर्शन खड्काका अनुसार अर्को बैठकमा रक्षामन्त्री सहित सम्बद्ध सबै अधिकारीलाई छलफलका लागी बोलाउने निर्णय भएको छ ।
कालोबजारी र आपूर्ति व्यवस्थाबारे छलफल गर्नुपर्ने समितिले सेनाको बिस्कुट खरिद प्रकरणमा छानबिन सुरु गरेपछि समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।
आजको बैठकमा कांग्रेस सांसद महालक्ष्मी उपाध्याय ‘डिना’ र चन्द्र महर्जन तथा एमालेका नागेन्द्र चौधरीले अदालतमा विचाराधिन मुद्धामा छलफल गर्न नमिल्ने बताउनु भएको थियो ।
तर, एमालेका सुवास ठकुरीले प्रतिस्पर्धा्बिना ठेक्का सम्झौता भएकाले छानबिन गर्नैपर्ने धारणा राख्नुभयो ।
बैठकमा रक्षा मन्त्रालयका निमित्त सचिवसहितका अधिकारीहरुले पशुपति बिस्कुटसंग सोझै सम्झौता गर्दा वार्षिक ४२ करोड रुपैयाँ नाफा भएको दाबी गरेका छन् ।
विगतमा ठेकेदारमार्फत प्रतिस्पर्धाबाट खरिद गर्दा करिव १४ रुपैयाँ पर्ने बिस्कुट उद्योगसंग सोझै खरिद गर्दा करिव ११ रुपैयाँमात्रै परेको भन्दै झन् नाफा भएको दलिल पेस गरेका थिए ।
सेनाको बिस्कुट खरिद प्रकरण हाल सर्वोच्च अदालतमा विचाराधिन रहेको छ । खरिद सम्झौता चौधरी ग्रुपको पशुपति बिस्कुटसंग भएपछि सारडाको एसियन बिस्कुटले उजुरी हालेको थियो ।