नवलपरासी , ६ बैशाख । नवलपरासीको धौवादीमा १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परेको छ । यो खानीबाट सेन बंशका पालामा फलाम उत्खनन गरेर पाल्पासम्म पठाउने गरिएको स्थानीयको तर्क छ ।
सरकारका तर्फबाट खानीको पहिलो चरणको अध्ययन सकिएको छ । फलाम खानी रहेको प्रारम्भिक अनुमानका आधारमा ४० दिनका लागि अध्ययन गर्न खटिएको टोली आफ्नो अध्ययन सकेर आज राजधानी फर्केको छ । फलाम खानी हेर्न उद्योगमन्त्री सोमप्रसाद पाण्डे आफैं नवलपरासी जानुभएको थियो ।
टोलीले पहिलो चरणमा दुई किलोमिटरमा अध्ययन सम्पन्न गरेको छ । दुई किलोमिटर क्षेत्रमा गरिएको नमूना संकलन र अध्ययनमा यहाँ दुई करोड टन फलाम खानी रहेको भेटिएको भुगर्र्भिवद्ध नारायण बास्कोटाले बताउनुभयो ।
गत फागुन २७ गतेदेखि पाँचजनाको टोलीले फलामको अध्ययन गरेको हो । नवलपरासीको पूर्वमा धौवादी र पश्चिममा देउराली गाविसको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी भेटिएको विज्ञहरुले बताएका छन् ।
वि.सं. ०६८ सालामा कोइलाखानीका लागि आएको खानी तथा भूगर्व विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी पत्ता लगाएको थियो ।