काठमाडौ २ वैशाख ।
आज चैते दसैं, शक्तिस्वरुपा दुर्गाभवानीको पूजा आराधना गरी मनाईंदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैं नेपाली समाजमा महत्वका साथ हेरिन्छ । वर्षमा दुई पटक चैत र असोजमा मनाइने दसैंका अवसरमा दुर्गा भवानीको पूजा गरिन्छ ।
चैते दसैंलाई असोजमा मनाइने बडादसैं भन्दा कम महत्व दिने गरिएको भएपनि शक्तिपिठहरुमा पूजा आराधना गर्ने तथा मान्यजनबाट टीका ग्रहण गर्ने परम्परा भने रहिआएको छ ।
वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । असोजको बडादसैंजस्तो यो बेलामा पहेंलो जमरा भने प्रयोग हुँदैन ।
चैते दसैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहेश्वरी, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी लगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।