काठमाण्डौ, २९ चैत्र ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ ।
कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनः निर्माणको काम सुरु हुनुपर्ने बारेमा छलफल भएको थियो । करिब आधा घन्टा भएको भेटवार्तापछि बिजुक्छेले यसबारे प्रतिक्रिया दिँदै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्ने माग गरेको बताउनुभयो ।
एउटै घरमा चार दाजुभाइ भिन्नै बसेको र भूकम्पले घर भत्काएर सबैलाई घरविहीन बनायो तर एकजनाले मात्रै राहत पाउने अरूले नपाउने व्यवस्था हुँदा पीडितलाई न्याय नहुने भन्दै उहाँले स्थानीय निकायलाई यसको जिम्मा दिए सहज व्यवस्थापन गर्न सकिने धारणा राख्नुभयो । जवाफमा प्रधानमन्त्री ओलीले प्राधिकरणसँग छलफल गरेर यसबारेमा निर्णय लिने आश्वासन दिएको बिजुक्छेले जानकारी गराउनुभयो ।