नारायणप्रसाद तिम्सिनाको जीवन यात्रा : टाईपिष्टदेखि कम्पनी सचिवसम्म

नारायणप्रसाद तिम्सिनाको जीवन यात्रा : टाईपिष्टदेखि कम्पनी सचिवसम्म

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 24K
    SHARES

भनिन्छ कुनै पनि सघर्षले मानिसलाई सफल बनाउछ । भाग्यले दिएर मात्र पुग्दैन, उसले कर्महरुद्धारा त्यसलाई प्राप्त गर्न सक्नु पर्छ । यस्तै देखिन्छ धेरै सफल व्यक्तित्वहरुको जीवनमा ।
   नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) का पूर्व कम्पनी सचिव नारायण प्रसाद तिम्सिना पनि निकै उत्तार चढाव सहदै टाईपिष्ट (सहायक चौथो) बाट जागिर शुरु गरेर हाल यो तहसम्म आईपुग्न सफल भएका छन् । सानामा निक्कै चक्चके तथा चतुर थिए उनी । अर्काको बारीका साथीहरु संग मिली काक्रो टिपेर खाईदिने तथा बसमा ढुंगा हानेर गाली पनि खान्थे । मध्यम परिवार, धेरै छोराछोरी ,त्यसमा पनि परिवारमा पहिलो सन्तान भएकाले निक्कै दुख पनि पाए । तर उनले आफ्नो जीवनमा आईपर्ने हरेका अप्ठ्याराको सामना गर्न कहिलै पछि परेनन् । त्यहि हक्की स्वभाव र परिश्रमी भएकै कारण आज उनी सम्मानित जीवन बिताईरहेका छन् । हाल तिमल्सिना समाज नेपालको अध्यक्ष समेत रहेका यीनै नारायण तिम्सिनासगको कुराकानीमा आधारीत रहेर उनका जीवन संघर्षका अवीस्मरणीय घटना र कथाहरु प्रस्तुत छ :-  

बाल्यकालमा नारायण
तनहुको सुक्ला गण्डकी नगरपालीका खैरेनिटारमा बुबा लोकनाथ र आमा गंगा देवी उपाध्यायका पहिलो सन्तानका रुपमा बि.सं. २०२१ साल पुष २१ गते जन्मिएका थिए, नारायण प्रसाद तिम्सिना । धुलो माटो र गुच्चा तथा मोजा डल्लो पारेर बल खेल्दा खेल्दै उनको वाल्यकाल पनि खैरेनिटारमा नै बित्यो । घरै पछाडि थियो प्राथमिक बिद्यालय । उनले त्यहीबाट अक्षर चिने । कहिले धुलोमा खेल्दै त कहिले ढुंगालाई गोल हान्दै स्कुल पुग्थे ।
मध्यम परिवारमा खान खासै समस्या नभए पनि उनको बाल्यकालका धेरै दैनिकी खालि खुट्टामा नै बित्यो । जुत्ता त क‘हा हुनु र चप्पल सम्म लगाउन पाउँदैन थिए । खालि खुट्टै साथीहरुसँग खेल्न जान्थे । स्कुल पनि खालि खुट्टै गएका छन् धेरै चोटी । थोत्रा मोजा भेलापारेर डल्लो पािर बाधेर बनाएको बल साथिहरुसँग मिलेर खेल्दा खुट्टामा चोट लागेको सम्झना पनि ताजै जस्तो लाग्छ उनलाई ।
कहिले काही साथीहरुसँग खुब झगडा पनि हुन्थ्यो । कुटाकुट नै पनि गरेको सम्झन्छन् उनी । सानामा धेरै चक्चके थिए । सडकमा गुड्ने गाडिमा एक दुईपटक साथीहरु संग मिलि ढुङगा हानेको पनि याद छ उनलाई । सानामा के ज्ञान हुन्थ्यो र नारायण सम्झनछन् । रमाइलो लाग्थ्यो त्यो बेला । एक दिन आफूले ढुङगा हानेको बसमा आफुलाई पढाउने सर पो रहेछन् । खुब गाली गरे त्यपछि कहिलै ढुङगा हानेनन् उनले ।
उनी सानो छदा खैरेनीटारमा जर्मनले एउटा प्रोजेक्ट सन्चालन गरेको थियो । त्यहा जर्मनी नागरिक पनि बस्थे । उनीहरुका पनि आफ्नै उमेरका केटाकेटी भएकाले नारायण खेल्न जान्थे । जर्मनहरुले लगाएका फलफुलहरु पनि खान्थे ।

बाहुनको छोरोले कुखुरो खादॉ…..

उपाध्याय बाहुनका छोरा । गॉउमा सबैले जिम्मालको छोरा भनेर माया पनि गर्थे उनलाई । भर्खर १० बर्षका थिए तर व्रतबन्ध भईसकेको थियो । छिमेकमा भान्जा दाईहरु थिए । एक दिन कुखुरा ल्याएर पकाए । नारायणले पनि मिठो मानेर खाए तर पछि गॉउ भरी हल्ला भयो । स्कुलमा सरहरु र साथीहरुमा पनि खुब चर्चा चल्यो ,जिम्माल नारायणले त कुखुरो खाएछ । कतिले गालि गरे कतिले सम्झाए पनि बाहुनको छोरो ,त्यसमा पनि ब्रतवन्ध गरेपछि कुखुरो खानु हुदैन भनेर जिस्काएर पनि हैरान बनाएका थिए उनलाई ।

दुई आमाः दुखः र सुख सबै

मध्यम परिवार भए पनि बुबाले दुई वटी श्रीमती भित्र्याएका र छोराछोरी पनि धेरनै भएकाले शिक्षा दिक्षाका लागि भने कठिन थियो उनको परिवारमा । सात बर्षको उमेरमा बिबाह भएको थियो उनकी आमाको । बाबुसँग खासै खुलेर बोलेको पारिवारिक ,घर ब्यबहार तथा लेनदेन र शिक्षा दिक्षाका बिषयमा खुलेर सरसल्लाह र कुराकानी आमाले गरेको उनलाई सम्झना छैन । तर बाबुले सानीआमा (जमुनादेबी)लाई बिबाह गर्दा उनी जन्मेका पनि थिएनन् । खासमा जन्म दिने आमा र सानीआमा दुवैले माया नै गरेको अनुभव उनको छ ।

के परिवारमा मेलमिलाप हुन्नथ्यो त भन्ने जिज्ञासामा उनले झट्ट उत्तर दिए । त्यस्तो हैन , दुई वटी आमा हुदा घरमा कहिले काही त झगडा हुन्थ्यो होला तर ,भेदभाव भएको खास अनुभव हामीले गरेनौ तर एउटा परिवारलाई मिलाउन , छोराछोरी पढाउन , खान लगाउन जति सहज हुन्छ दुई परिवार भएपछि त्यो कठिन हुने रहेछ । खान लगाउनलाई नै त खास समस्या थिएन तर दुबै आमाका छाराछोरीलाई पढाउन बुवालाई कठिन थियो । त्यो अनुभवन नारायण आफैले भोगेका छन् ।
घरमा आमालाई काम सघाउन पनि पछि पर्दैन थिए । छोराले भाडा माझ्नु , भात पकाउनु हुदैन भन्ने समाजमा उनले कसैको परवाह गरेनन् । घरमा आमालाई घरायसी काममा सघाउथे । घास काट्ने , झाडु लगाउने , भाडा माझ्ने,घासं काट्ने, गाई हेर्ने, आदि उनले सकेको सबै काम गरे । मलाई कर थिएन तर घरमा काम सघाउथे ।

झोलामा चामल बोकेर एसएलसी दिन जांदा

  घरै छेउमा रहेको सरस्वती प्रा .बि बाट औपचारिक शिक्षा सुरुवात गरेका नारायणले खैरेनीटार माध्यमिक बिद्यालयबाट एसएलसी पास गरे । तीन कक्षा उत्तीर्ण गरेपछि उनी मा वि मा पढ्न गएका थिए । उनका काका धर्मदत्त उपाध्याय प्रा वि का प्रधानाध्यापक थिए । तर उनलाई काकाले सबै बिद्यार्थीहरुलाई जस्तैै नै व्यबहार गर्नु हुन्थ्यो । ४ कक्षामा पढ्नका लागि काकाले दमौलीमा बुढानिलकण्ठ स्कुल काठमाण्डौका लागि पनि जाचं दिलाउन ल्याउनु भएको थियो । तर नारायण सफल हुन सकेनन् ।
उनी साथीहरुसँग मिलेर खेल्थे ,पढ्थे । साथीहरुसँग त धेरै पटक खेल्ने क्रममा झगडा भएको याद छ उनलाई तर शिक्षकहरुले पिटेको खास अनुभव छैन । तर बिद्या मेडमलाई मेडम भन्दा आमा भनेको याद छ ।
घरबाट ५०० मिटर थियो मा.वि स्कुल । हिडेर जानुपर्ने तर खाली खुट्टा हुन्थ्यो । साथीहरुसँग खेल्दै ,उफ्रदै जादा त खुट्टामा चोटपटक लागे पनि खासै याद हुदैनथ्यो उनलाई । जब घर फर्कन्थे अनि रात पथ्र्यो धेरै चोटि खुट्टा दुखेर रुदा आमाले फकाउनु भएको सम्झना छ उनलाई ।
नारायण प्रकृति प्रेमी थिए । उनी भूगोल विषय (जोग्राफी )मा खुब रुची राख्थे । मन पर्ने बिषय पनि त्यही थियो तर पनि परीक्षामा भने त्यसमा त्यस्तो औधी राम्रो नम्बर आएन । आफुलाई कठिन लाग्ने अप्सनल म्याथमा भने एसएलसिमा समेत राम्रो नम्बर ल्याए । त्यति बेला उनलाई अचम्म पनि लागेको थियो । अप्सनल म्याथ अप्ठ्यारो लाग्ने बिषय त्यसमाथि सरले पढाएको पनि नबुझ्दा कक्षमा दिक्क लागेर आउथ्यो उनी सम्झन्छन् ।
मध्यम बिद्यार्थीमा गनिने नारायण जब एसएलसी परिक्षाको रिजल्ट आयो झस्किए । उनलाई एक बिषय पो लागे छ । अग्रेजी बिषयको परीक्षाका बेला सरले हेरेर ऐ केटा तेरो त यो गलत भएछ नी भनिदिएका थिए उनी सम्झन्छन् लगत्तै त्यसलाई काटेर फेरी लेख्न खोजे समय नै पुगेन । सोही कारण बिषय लाग्यो ।
हिम्मत भने हारेनन् उनले मिहेनत गरेर पढे अनी ब्याक पेपर दिए । १५ बर्ष पुरा हुंदा दिएका थिए एस.एल.सि. पछि १६ बर्ष पुग्दा एस.एल.सी. उत्तीर्ण पनि भए । तनहुमा त्यो बेला जम्मा माध्यमिक बिद्यालय सात वटा मात्रै थिए । उनको एक्जाम सेन्टर बन्दीपुरमा परेको थियो । परीक्षा दिन उनी झोलामा चामल बाकेर तोकिएको परीक्षा केन्द्रतिर लागे तर राति बास बस्नलाई कोठा नै पाईएन । अन्त्यमा बन्दीपुरबाट करिब ढेड घण्टा टाढा डुम्रे जान हिडे । बाटोमा अचानक मोजराज भिजानुसँग भेट भयो । भिनाजुले परिक्षा दिन हिडेको मान्छे यति टाढा बास बसेर कसरी भ्याईन्छ । हिड म सँगै । बस्ने ब्यवस्था म मिलाउछु भनेपछि उनलाई ढुङगा खोज्दा देउता मिले  झै भयो ।
सम्झन्छन् उनी , बिहान सात बजेको परीक्षा ,पढ्नु पर्ने बेला चामल झोलामा बोकेर बास बस्ने ठाउ खोज्नु पर्ने त्यो पनि परीक्षा केन्द्र भन्दा ढेड दुई घण्टा टाढा । मेरो परीक्षा सायद भिनाजुसँग भेट नभएको भए छुट्थ्यो होला ।

२७ सय बोकेर काठमाण्डौं हिडेको क्षण

एस.एल.सि उत्तीर्ण गर्दा मात्रै १६ बर्षे ठिटो थिए नारायण । खैरेनीटारबाट २०३५ सालमा उनी शैक्षिक भ्रमण काठमाण्डौ गएका थिए । त्यसबेलाको घटना आज पनि सम्झन्छन् , काठमाण्डौ आंउदा पाईन्टको फसनर बिग्रेर धागोले सिलाएको याद छ उनलाई । त्यहि अनुभबका आधारमा  उच्च शिक्षाका लागि २७ सय रुपैया बोकेर २०३८ सालमा सिधै काठमाण्डौ आए ।
उनलाई ‘ल’  पढ्ने इच्छा थियो तर आर्थिक अवस्थाका कारण त्यो सभ्भव भएन । अन्त्यमा रत्न राज्य लक्ष्मी क्याम्पसमा पढाई त सुरु गरे त्यसले निरन्तरता भने पाउन सकेन । त्यो बेला पढ्नु पर्छ भनेर सहयोग र सपोर्ट गर्दिने मान्छेको पनि अभाव खड्कीयो उनलाई । चाहना नहुदा नहुदै पढाईलाई बीचमा ब्रेक गर्नुपरेको थियो । सोहि क्रममा पुन खैरेनिटार पुगेर ट्युसन पढाउने काम पनि गरे ।
बुबाले तराईमा जग्गा किनेपछि त्यतै जानुपर्यो उनलाई । विरगन्जको हरिखेतान बहुमुखि क्याम्पसमा एक वर्ष पढेर जाच दिए पछि काका धर्मदत्तले जागिरको व्यबस्था गरिदिएकोले पुन काठमाण्डौ नै फर्किए । दोस्रो बर्ष पिपुल्स क्याम्पसबाट मेनेजमेन्टमा ईन्टर सके । त्यस पछि शंकरदेव क्याम्पसबाट  वि. कम. गरे ।
सानै देखि बहस गर्न ,बादबिबादमा सहभागी हुन रुचाउने उनलाई कानुन पढ्ने ईच्छा अझै हराएको थिएन । जागीर खान पनि सुरु गरेकाले केहि पैसा पनि हुन्थ्यो त्यो बेला उनीसँग । त्यसैले नेपाल ल क्याम्पसमा भर्ना भई एल.एल बी पनि सके । त्यो उनको सोखको बिषय थियो । उनलाई पढ्न अरु बिषय जस्तो कठिन पनि भएन । एकै पटकमा पास गरेका थिए । पछि एम.ए.सोसोलोजीमा गरे ।
जागिर खादै पढ्नु पर्ने तथा देशमा बिभिन्न चरणमा भएका राजनितिक आन्दोलनका कारण पनि निरन्तर पढाई हुन सकेन ।
उनी भन्छन् ,पढाईमा धेरै संघर्ष गर्नुपर्यो । आफुले मन फुकाएर पढ्ने वातावरण पाईन त्यहि कारण नै आफ्ना तीन छोरालाई समान रुपमा शिक्षामा खर्च गरेको छु । समय दिएको छु अनि सक्दो वातावरण पनि बनाई दिएको छु । नारायणका छोराहरुमा ठुलो छोरो किस्मतले एमबीए सकेका छन् भने माईलो किमिल फाईनल सिए र कान्छो किनार एम.बी.ए मा अध्ययनरत छन् ।

काखमा एसएलसी दिने भाई बित्दाको पीडा..

काठमाण्डौको बागबजारमा थियो बसाई ।आफुसँगै चार भाईलाई राखेर पढाएका पनि थिए । सबैको व्यबस्थापन आफ्नै काधमा थियो । एकदिन अचानक उलाई सोक पर्यो । भाई एसएलसीको परिक्षा दिने तयारी गर्दै थिए उनका भाई बलराम तिम्सिना तर बिरामी भएपछि काठमाण्डौ टिचिगं अस्पतालमा भर्ना गरिएको थियो तर अचानक रोग बल्झियो र विर अस्पतालमा मृत्यू भयो ।
उनी भन्छन् मुटुमा समस्या थियो भाईको । ईन्डीयामा लगेर उपचार गर्ने भनेर सल्लाह गर्न बुबा काठमाण्डौ आउनु भएको थियो । उपचारका लागी पैसा धेरै चाहिने त्यसैले खर्चको जोहो गर्ने कुराकानी हुंदै थियो । १ लाख लाग्छ भनेर डाक्टरले भनेका थिए । छेउमा बुबा हुनुहुन्थ्यो । मेरो काखमा भाई थियो दुई हातले च्यापेर भाईलाई काखमा राखेको थिए । उसले अन्तिम स्वास मेरै काखमा लियो । त्यो बेला यति पीडा भयो कि मैले केही बोल्न सकिन । आज पनि जब त्यो घटना सम्झन्छु मन पोलेर आउछ । काखमा भाईलाई बोकिरहेको छु जस्तो भान हुन्छ नारायणलाई ।

आश्चर्य लाग्दो बिबाह , मिठास प्रेमयुक्त सहयात्रा

भर्खर १९ बर्ष टेकेका नारायण विरगन्जबाट बिंस २०४० साल जेठको महिना पुन खैरेनीटार घर फर्किए । घर पुग्नेबित्तकै प्रस्ताव आयो आचार्यकी छोरी दिन खोजेका छन् ।खानदान पनि राम्रो सिलस्वभाव भएकी केटी । बिबाह गर्नुपर्यो । उनले ठाडै अस्वीकार गरे , म बिहे गर्दिन अहिले । भिनाजु  र मामाले कर गरे एक पटक भेट्न चै जाउ ,हेरौ अनी बिहे नगर्ने भए त्यहि केटी पक्षलाई भनिदेउन त ।  उनलाई धेरै बिबाद गर्नुभन्दा त्यो सुझाव राम्रै लाग्यो । हुन्छ भनेर मामा र भिनाजुसँगै केटीको घर कास्की भरतपोखरी गए।
गोजीमा जम्मा २० रुपैया बोकेको थिए । आउ जाउ भाडामा १४ रुपयौ खर्च हुन्थ्यो । बाटोमा जादा भोक लाग्यो ६ रुपैयाको खाजा खाईयो । साझ घर पुगेर मधुमायाका आमाबुसँग कुराकानी भयो । थाकेको हुनाले खाना खाएर सुतियो । उनी भन्छन् , बिहान उठेर हिड्ने तरखर गर्दै गर्दा सँगै गएका मामा र भिनाजुले भन्नु भयो , किन बिबाह नगर्ने ? स्पष्ट र चित्तबुझ्दो जवाफ देउ । तर म सँग बिहे अहिले गर्दिन भन्ने बाहेकको जवाफ थिएन । केही भन्न सकिन । उहाहरुले सबै जिम्मा हामी लिन्छौ ,घर परिवारमा सबै कुरा हामी मिलाउछौ । बिबाह गरेर दुलई लिएर मात्रै जाने भन्नु भयो ।
कुराकानी गफगाफ त परै जाओस् । मैले मधुको अनुहार सम्म राम्ररी हेरेको थिईन । तर उहाहरुले कर गर्न थालेपछि ,बिहे गर्छु भनिदिए ।
बिबाहमा चाहिने सबै सरसामान ,खर्चवर्च पनि ससुरालिले नै गरे ।त्यति मात्र हैन बेहुला बेहुलीको लुगाफाटो र गरगहनासम्म उनीहरुले नै किनिदिए । बिबाह सम्पन्न भयो । बेहुली लिएर खैरेनीटार पुग्दा घरमा ताला लगाईएको थियो । सबै जना गाउँमै अर्कैको बिहेमा गएका रहेछन् सबै त्यसैमा गएका थिए । एकै छिनमा गाउँभरी हल्ला भयो जिम्मालको छोरा नारायणले त  बिहे गरेर दुलही ल्यायो भनेर ।अनी घरमा सबै जम्मा भए ।  बेहुली भित्र्याउने काम भयो । उनीसँग मेरो राम्ररी बोलचाल भने दुलन फर्काउने बेलामा मात्रै भएको थियो ।

मधुमाया बिबाह गर्दा दश कक्षमा पढ्दै थिईन् । त्यसपछि उनले एसएलसी दिईन तर त्यो भन्दा माथि औपचारीक शिक्षा लिने अवसर मिलेन ।
म काठमाण्डौ जागिर खाने महिनाको रु. ७१५।– तलब हुन्थ्यो महिनाको परिवार पाल्न धौ धौ हुन्थ्यो । ४ जना भाई पनि सगै थिए । उनी मधुमाया (श्रीमती) खैरेनिटारमा नै थिईन । त्यही हाम्रा तीन छोरा जन्मिए उनी भन्छन् । आमा भएकाले बालबच्चा हुर्काउन कठिन भएन । घर बिदाका दिनमा जाने आउने गर्थेे । यो क्रम १० बर्ष सम्म चल्यो । छोराहरुको बाल्यकाल पनि गॉउमै बित्यो । परिवारलाई काठमाण्डौ ल्याएर राख्न सक्ने स्थीति थिएन । खर्च पुग्दैन थियो । जागिर खाएको पैसाले बालबच्चा हुर्काउन कठिन हुने भएकाले पनि परिवारलाई घरमै छाडेर आफुमात्रै काठमाण्डौ आएका थिए उनी ।
काठमाण्डौको ०५२ सालमा वसुन्धारामा घर बनाए र ०५१ सालमा मात्रै सबै परिवारलाई राजधानी ल्याएको उनी बताउछन् । बिबाह पछि १० बर्ष श्रीमानसँग टाढा बस्दा जीवनका धेरै मोडमा मधुलाई मेरो आवश्यक्ता खड्कीयो होला । सँगै बस्ने रहर पलाए होलान् तर उनले कहिलै अभिब्यत्त गरिनन् किनकी उनले मेरो बाध्यता ,बिबसतालाई नजिकबाट नियालेकी थिइन् ।

सहायक टाईपिस्टबाट कम्पनी सचिवसम्म

ईन्टर पढ्दै थीए नारायण । त्यहि बेला नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चौथो तहको टाईपिस्ट पदमा काका धर्मदत्तले ज्यालादारीमा नियूक्तका लागि व्यबस्था गरिदिए । त्यति खेर पहिला जागिरमा प्रबेश गर्दा धेरै टाईपिष्टको माग थियो । पढ्नलाई पनि जागिर खानु पर्ने बाध्यता थियो उनलाई त्यहि मौकाको फाईदा उठाए र काम सुरु गरे ।
बि.स ०४१ साल देखि नेप्सेमा सहायकबाट काम सुरु गर्दा उनको तलब रु ७ सय १५ रुपैया थियो । ओभरटाईम काम गर्दा ९ सय सम्म हुन्थ्यो । चार जना भाईलाई पनि आफैसँग राखेर पढाउदै थिए त्यति बेला । बिबाह भईसकेको थियो । घर ब्यवहार आफै हेर्नुपर्ने ,खर्चको जोहो गर्नुपर्ने । मासिक ९ सय रुपैयाले राम्रो भरथेग हुन्थेन भने खर्चका लागि घर बाट पनि ल्याउने परिस्थिति थियो उनी भन्छन् ।
आफ्नो कामलाई कहिलै सानो ठानेनन् उनले । कामप्रतिको त्यहि लगावका कारण उनी नेप्सेको कम्पनी सचिव सम्म भए । हाल वरिष्ठ अधिकृतको रुपमा कार्यरत छन् । आफ्नो नियमित ड्युटि भन्दा बाहिर क्रियाकलापमा पनि उनी सहभागी हुन्थे । त्यहा काम गर्दा हाजिरिजवाफ, व्याडमिन्टन जस्ता प्रतियोगिताहरुमा सहभागी भएर सधै प्रथम पुरस्कार हात पार्थे । नेप्सेमा दुई पटक सम्म युनियनको अध्यक्ष भएर पनि काम गरे ।

सामाजिक कार्यमा सक्रिय नारायण

समाजमा देखिने कुसस्कार र कुरितिको जरै उखेलेर फाल्नुपर्छ भन्ने सोच भएका नारायण तिम्सिनाले आफ्नो यहि सोचलाई सावित पनि गरेर देखाए । बिभिन्न संघ सस्थामा आबद्ध भएर उनले समाजमा गरेका यस्ता कार्यहरु छन् जसले उनको नाम समाजसेवाका क्षेत्रमा पनि सधै अगाडि रहनेछ ।
हाल तिमिल्सिना समाज नेपालका अध्यक्षका रुपमा पनि काम गर्दै आएका नारायण सो सस्थामा भने २०६३ साउन बाट आबद्ध भएका थिए । एउटा पत्रिकामा समाजको भेला हुदैछ भनेर बिज्ञापन देखेपछि आफ्नै बन्धुहरुको जमघट रहेछ यसमा बसेर म पनि काम गर्छु भन्ने भयो । त्यसैले केन्द्रिय सदस्यमा उठ्छु भनेर आए । नया कार्यसमितिका लागी चुनाव त भएन तर आफ्ना भनाईहरु भने निर्धक्क सँग राखेर फर्किए उनी । पछि उनलाई केन्द्रिय सदस्यमा मनोनित गरे ।
त्यसपछि उनी महासचिव हुदै हाल अध्यक्ष पदमा रहेर काम गरिरहेका छन् नारायण । समाजमा रहदा केहि गरेर देखाउछु भन्ने अठोट थियो उनमा । आफ्नो कार्यकालमा गरेका कामले त्यो पुरा गर्न बाटो पनि बनाईरहेको छ ।

  उनी महासचिव रहदा सुदरुपश्चिमको अछाममा हुने बलि प्रथा अन्त्य गर्न सफल भए । अछामको तिमिल्सेन गाविसमा २०६७ सालमा बलिप्रथाको अन्त्य गरिएको थियो । राक्षशले दुख नदियोस भनि निर्मम तरिकाले खुडा बन्चरा ढुङगाले हान्ने र भालाले रोपेर बलि दिने प्रचलन रहेको थियो । रागोलाई निर्मम तरिकाले नमारेसम्म बलि नचढ्ने मान्यताका आधारमा भाकल गरेरै बलि दिने प्रचलन थियो । घरपरिवारमा कोहि बिरामि भए बलि दिने भाकल गर्ने गर्थे गाउलेहरु ।
०६७ सालको बडादशै कोजाग्रत पूर्णिमा दिन तिमिल्सिेन गाउमा पनि बलि दिने तयारी हुदै थियो ।सोहि बेला १० राजनितिक दलका प्रतिनिधि ,तत्कालिन प्रमुख जिल्ला अधिकारी तथा प्रहरीका साथ पसुबलि अन्त्यको घोषण गर्न नारायण तिमिल्सिना समाज नेपालको प्रतिनिधी (तत्कालिन महासचिव)तिमिल्सिेन गाउ पुगे  तर बलिप्रथा आफ्ना बाबु बाजेदेखि गर्दै आएकोले यसो नगरे राक्षस रिसाएर दुख दिने भन्दै यसको बिरोध भयो । झडपकै स्थीति पनि भएको थियो तर प्रहरी प्रसासनको पनि उपस्थिती भएका कारण त्यस्तो अप्रिय घटना घटेन । भाकल गरेकाहरुलाई बलि चढाउन दिएर अब देखि भाकल नगर्न अनुरोध सहित बलि प्रथा अन्त्यको घोषणागरिएको थियो । बलिप्रथा अन्त्य गर्दा स्थानिय तिलक बहादुर खत्रि तिमल्सिना र सोही गाउका तिमिल्सिना दाजुभाई लगायत पूर्व एआईजी कल्याण तिम्सिनाको पनि महत्वपूर्ण भुमिका रहेको थियो ।

उनले बलि प्रथाको अन्त्य मात्रै गराएन तिमिल्सिना समाज नेपाल द्धारा आयोजित श्रीमद्भागबत ज्ञान महायज्ञ मूल समारोहको अध्यक्ष भई अग्रणी भुमिका खेले ।देशभरका हजारौ तिमिल्सना दाजुभाईहरुले आफ्नो मूल थलो हेर्ने सौभाग्य प्राप्त भयो ।जसको कारण थियो महायज्ञ । आज महायज्ञको कारणबाट सुदुर पश्चिममा महायज्ञ होस त तिमिल्सिनाको जस्तो भन्ने गरिन्छ । जसले सबै दाजुभाईहरुको शिर उचो बनाएको छ । महायज्ञमा लगभग ११६ रोपनी जग्गा प्राप्त भएको छ देशभर गरी । अछामको जग्गा जनयुद्धकालमा मंगलसेनमा रहेको मालपोत जलेको हुंदा नामसारी हुन सकेको छैन् । नापी भएको छ । नामसारी गर्ने प्रकृयाका लागि अछाम जिल्ला कार्य समितिलाई नै जिम्मेवारी दिएको बताउछन् उनि ।

  महायज्ञमा उठेको रकमबाट कृष्ण मन्दिर बनाउन पनि भुमिका खेले । जुन ठाउमा यज्ञ गरिएको थियो सो ठाउमा नै राधाकृष्णको मन्दीर बनाईयो । सो राधाकृष्णको मन्दिर निर्माण गरि २०७२ साल कृष्णाअस्टमीका दिन उद्घाटन् समेत गरे । त्यसबखत बरिष्ट उपाध्यक्ष कलम खत्री तिमिल्सिना,महासचिब बाबुराम तिम्सिना, सहित काठमाण्डौ बाट तिमिल्सेन पुगेका थिए ।
रागो बलि दिएर रमाउने सो गाउका स्थानियहरु आजकल सोहि मन्दिरमा भजन किर्तन गरि कृष्ण महिमा गाएर बस्ने गछर्न । कृष्णअष्टमीको दिन त्यहा पर्व नै मनाईन्छ । रथ यात्रा गराईन्छ ।
यस्तै आफ्नैे पहलमा गरिव असह्यायलाई सहयोग गर्ने उदेश्यले तिमिल्सिना समाज नेपालले संचालन गर्ने गरी  कल्याणकारी अक्षय कोषको स्थापना गरेको उनि बताउछ्न ।

      उनी भन्छन् , अहिले म जहा छु , जस्तो छु मलाई यहासम्म आईपुगुला जस्तो लागेकै थिएन । म त मध्यम परिवारमा हुर्किएको मान्छे । पढाई पनि निरन्तर हुने सकेन ,त्यसमा पनि म कुनै टपर बिद्यार्थि थिईन । जागिर पनि सामान्य कार्यालय सहायकबाट सुरु गरेको थिए । तर पनि आफ्नो कडा मिहेनत कै कारण आज यो अवस्थामा आईपुगेको छु ।
हुन त सबैले भन्छन् मैले गरेको कडा मिहेनतले नै म यो स्थानमा आए तर मेरो अनुभुति फरक छ । जुनकुरा मैले पाएको छु त्यसका लागी आवश्यक्ता भन्दा बढी मिहेनत गर्न परेको अनुभव छ । सायद यसैले होला म हरेक कुराहरुप्रति सन्तुष्ठ नै छु ।
सामाजिक क्षेत्रकै कुरा गर्दा बिकास नगर उपभोक्ता समितिमा बसुन्धारामा महासचिव तथा पश्चिमान्चल बिकास मन्चमा केन्द्रिय सदस्य लगायत संरक्षक छन् । लायन्समा एडिसनल क्याबिनेट ट्रेजर सम्म पुगे ।
आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सक्रिय रहने बताउछन् उनी । उनलाई आफ्नै जीवनमा खड्कीएको छ ,आर्थिक अवस्था र पढाई त्यसैले गरिव ,कमजोरहरुलाई सहयोग गर्ने त्यसमा पनि शिक्षा र स्वास्थमा खर्च गरिदिने सोच छ उनमा ।
आफ्नो आम्दानीको केहि प्रतिशत गरिव दुखिलाई छुट्याउने र सोहि वापत कसैको शिक्षा र स्वास्थमा खर्च गर्ने संकल्प छ उनमा । दान धर्ममा सन्तुष्टी मिल्छ त्यसैले धार्मिक कार्यमा पनि संलग्न हुने गरेको सुनाउछन् । जीवन एक चक्र हो उनको बुझाईमा । तर कर्म गर्न छाड्नु हुदैन ।

युवा पुस्तालाई सुझाव

म पैसा कमाउछु भनेर मात्रै हिड्दा हुदैन । पैसाका लागी पछाडी मात्र दौड्नु राम्रो हुदैन । आर्थिक पाटो मजबुत बनाउन पैसा कमाउनु पर्छ तर त्योसँग सँगै समाज सेवामा पनि लाग्नु पर्छ । पैसा कमाएर समाज सेवा गर्न त सकिएला जुन ठाउमा बसेर सेवा गर्ने हो त्यो प्राप्त हुदैन जस्तो लाग्छ उनलाई ।
राष्ट्र नभए केहि हुँदैन भन्ने सबै युवाहरुले बुझन जरुरी छ । नेपाललाई घृणा गर्छन् युवाहरु त्यो गर्नुहुदैन । नेपालमा अवसर छैन ,बिदेसुपर्ने बाध्यता छ तर त्यसको दोष लगाउनु गलत भएको उनको बुझाई छ ।
छिमेकी मुलुक चीन, भारत, सिंगापुर ,भुटान ,थाईल्याण्ड ,हङकङ बंगलादेश, मलेसिया, लगायतका धेरै मुलुकमा घुमेको उनको अनुभव छ जब युवाहरु बिदेश पुग्छन् तब मात्र युवाले देश सम्झने गर्छन्  । दार्जिलिङ ,सिक्किम , तथा अन्य बिभिन्न देशमा रहेका नेपालीहरुले देशप्रति गर्व गर्छन् तर य‘हा घृण गरेको देख्दा मन दुखेर आउछ । नारायण तिम्सिनाको यो सकारात्मक जीवन संघर्ष र प्रगतिबाट अरु धेरै युवाले सिक्न सक्छन् कसरी जीवन सफल हुन सक्छ । तिम्सिनालाई भावी स्वस्थ्य र सफल जीवनको शुभकामना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी