काठमाडौं, २८ चैत्र / नेपाल–चीन बाणिज्य मैत्री संघको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका चिनिया व्यवसायीहरुले सवा अर्बको लगानी प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग शनिवार वालुवाटारमा भएको भेटमा उनीहरुले सवा अर्ब नेपाली रुपैयाको लगानी प्रस्ताव पेश गर्दै चिनिया लगानीको सुरक्षा गरिदिन आग्रह गरेका हुन् ।
गत बर्ष गएको विनाशकारी महाभूकम्प र लामो समय सम्म कायम रहेको भारतीय नाकाबन्दीले जर्जर बनेको नेपाली अर्थतन्त्रलाई टेवा पु¥याउने उद्देश्यले आफुहरु नेपाल आएको भ्रमण टोलीका संयोजक प्रोफेसर लिउ होङ्ग स्याङले मिर्मिरे अनलाईनलाई बताए ।
नेपाल र चीनबीच युगौदेखि प्रगाढ मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै प्रोफेसर लिउ ले महाभूकम्पपछिको पुननिर्माणमा नेपाली जनतालाई साथ दिन चिनियाहरु आतुर रहेको बताए ।
टोलीका सह संयोजक तथा क्वान्तोङ ओसिस केमिकल कम्पनी लिमिटेडका अध्यक्ष चङ्ग सिउमिङ्गले प्रधानमन्त्री ओलीको चीन भ्रमण पश्चात चिनिया लगानीकर्ताहरुमा नयाँ उत्साह पलाएको जानकारी दिँदै नेपाल सरकार समक्ष लगानी सुरक्षाको माग गरे ।
भ्रमण टोलीका सदस्य चङ स्याङ्ग इन्भेष्टमेन्ट ग्रुपका अध्यक्ष तथा क्वीचौ चेम्वर अफ कमर्श का उपाध्यक्ष खोङ्ग स्याङ्गचुले चिनिया लगानीको ग्यारेन्टी भएमा नेपालमा लगानी कर्ताको ओईरो लाग्ने हुँदा नेपाल सरकार समक्ष सके सम्म चाँडो लगानी नीति कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।
भ्रमण टोलीका अर्का सदस्य साङहाई युवेकुन इन्फरमेसन टेक्नोलोजी कम्पनीका अध्यक्ष चौ यौङ्ग हले अमेरीका, अष्ट्रेलिया, वेलायत जस्ता विश्वका विकसित मुलुकहरुमा लगानीको पूर्ण सुरक्षा भएको हुँदा नै ती मुलुकको अर्थतन्त्रले महत्वपूर्ण फड्को मारेको बताए ।
नेपाल–चीन बाणिज्य मैत्री संघका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले मुलुक संविधान निर्माण पश्चात आर्थिक क्रान्ति तर्फ उन्मुख हुने अवस्थामा पुगेको हुँदा चिनिया लगानीलाई सुरक्षित गर्न सरकारले यथासक्य चाँडो लगानी मैत्री बातावरण श्रृजना गर्नु पर्नेमा जोड दिए ।
भेटबार्ताका क्रममा प्रधानमन्त्री ओलीले चिनिया लगानी कर्ता तथा व्यवासायीहरुलाई नेपालमा ढुक्क भएर लगानी गर्ने बातावरण मिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
नेपाल यतिवेला पुननिर्माण र आर्थिक विकासको बाटोमा अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले चिनिया व्यवसायी तथा लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण पश्चात पहिलो पटक चिनिया व्यवसायी तथा लगानी कर्ताहरुले नेपाल भ्रमण गरेका हुन् ।
