काठमाण्डौ, २७ चैत्र ।
उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले बैशाखदेखि लोडसेडिङ् आधारभूत रुपमा अन्त्य हुने उद्घोष गर्नुभएको छ ।
रपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले लोडसेडिङ् अन्त्य गर्ने सवै पूर्वाधार पूरा भइसकेकाले आगामी नयाँ वर्षवाट यसको प्रभाव देखिने बताउनुभएको हो । उहाँले ०७४ सालमा लोडसडिङ पूर्णरुपमा अन्त्य हुने समेत घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो ‘उर्जा संकट निवारण गुरुयोजनाअनुसार द्रुत गतिमा काम भैरहेकाले नयाँ वर्षदेखि दैनिक ४ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ हुने ठोकुवा गर्दछु, मैले बलियो जग हालिसकेको छु, सरकार परिवर्तन भएपनि केही असर पर्दैन, काम अघि बढ्छ ।’
रायमाझीले विभिन्न अपठ्यारो परिस्थितिको बावजुद पनि आफूले उर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याएको दाबी गर्दै अब मुलुकले आगामी दिनमा उर्जाको समस्या भोग्नु नपर्ने बताउनुभयो ।
उर्जा क्षेत्रको विगत १ सय ५ वर्षे लामो ईतिहास अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै पूरानोलाई क्रमभंग गरेर नयाँ गुरुयोजनाहरु सूचारु गर्न आफूले उल्लेखनीय काम गरेको उहाँको दाबी छ ।
ठूला आयोजना अन्र्तगतका बुढीगण्डकी, नौमुरे, नलसिंहगाढ, अपर अरुण, सुनकोशी लगायतका हाइड्रोप्रोजेक्ट समेत चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीले जानकारी दिनुभयो ।