काठमाडौ २७ चैत्र ।
सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको केन्द्रिय कार्यसमिति बैठक आज पुनः बस्दैछ । पार्टीका आन्तरिक व्यवस्थापनका केही विषयमा विवाद चर्किरहेका बेला बैठक बस्न लागिएको हो ।
बैठक आज अपरान्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको छ । पार्टीका विभागमा सदस्य मनोनयनको विषयमा आपत्ति जनाउदै नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टी जनाएपछि अघिल्लो साता केन्द्रिय समिति बैठक स्थगित गरिएको थियो ।
यसबीचमा विवादित विषयमा पोलिटब्युरो बैठकमा छलफल बसेपछि आजबाट केन्द्रिय कमिटी बैठक बस्न लागेको हो । आजै साँझ पोलिटब्युरो बैठक समेत बस्ने नेता योगेश भट्टाराईले जानकारी दिनुभयो ।
पार्टी पोलिटब्युरो बैठक सकिएपछि मात्र केन्द्रिय कार्यसमिति बैठक बस्ने प्रावधान रहेपनि पोलिटब्युरो बैठकमा सदस्हरुले बोल्ने क्रम बाँकी रहेकाले बैठक जारी रहेकै बेला केन्द्रिय कार्यसमिति बैठक बोलाइएको हो ।
बैठकमा सरकारको कामकारबाही, पार्टीको आन्तरिक विवाद तथा विभागलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ ।