काठमाडौं, चैत्र २५
मुलुककै सबैभन्दा ठूलो प्रशासनिक केन्द्र रहेको सिंहदरबारमा आज एकाएक सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ । आज सिंहदरबार प्रवेश मात्र सरकारी सञ्चार माध्यमहरू रेडियो नेपाल र नेपाल टेलिभिजन बाहेकका पत्रकारलाई प्रवेश गर्न रोक लगाएको हो ।
सूचना विभाग र संसद् सचिवालयले जारी गरेको प्रेस कार्डको आधारमा सिंहदरबार प्रवेश गर्दै आएका पत्रकारहरूलाई आज अचानक एकाएक प्रवेश गर्न रोक लगाएको हो । यता सुरक्षाकर्मीहरूले भने माथिको आदेश भन्दै रिपोर्टिङमा गएका पत्रकारहरूलाई गेटबाट फिर्ता पठाएका छन् ।
सिंहदरबार सुरक्षा गणले दिएको जानकारीअनुसार सामान्य प्रशासन मान्त्रालयमा कर्मचारीले आन्दोलन गरेको कारणले प्रवेशमा रोक लगाइएको बताएको छ । आज घोडा जात्राको सार्वजनिक बिदा पनि परेकाले प्रवेशमा कडाई गरिएको गणले जनाएको छ । भोलि शुक्रबारदेखि पुनः प्रवेशलाई यसअघि जस्तै सामान्य बनाइने गणको दाबी रहेको छ । गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले एकै पटक धेरै जना प्रवेश गरेकाले केही बेर कडाई गरिए पनि अत्यावश्यक काम भएकालाई प्रवेश गर्न दिएको बताएका छन् ।