काठमाडौं, २४ चैत्र । विश्व चर्चित पानामा पेपर लिकमा नेपालसँग सम्बन्धित व्यक्ति र संघसंस्था पनि जोडिएको हुन सक्ने सार्वजनिक भएपछि यसबारे छानबिन हुने भएको छ ।
यस विषयमा छलफल गर्न सम्पत्ति शुद्धिकरण विभागको बैठक बस्दैछ ।
मध्यान्न १२ बजेपछि विभागको कार्यलय पूलचोकमा बस्ने बैठकमा नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक र राजस्व अनुसन्धान विभागका प्रतिनिधिहरुलाई बोलाइएको विभागले जनाएको छ ।
गैरकानूनी रुपमा आर्जन भएको सम्पत्ति नेपालमा पनि लगानी भएको वा राखिएको हुनसक्ने आशंकामा सरकारले अनुसन्धान सुरु गर्ने भएको हो । बैठकले सार्वजनिक भएको सूचना कतिको सत्य तथ्यमा आधारित छ भन्ने बारेमा छलफल गरी छानबिनका लागि आगामी रणनीति तय गर्ने विभागका महानिर्देशक दामोदर रेग्मीले बताउनु भयो ।
गत आइतबार कागजात चुहावट भएपछि विभिन्न देशका उच्चपदस्त राजनीतिक तथा कूटनीतिक व्यक्तित्व र कम्पनी कर छली तथा अवैध सम्पत्ति लुकाउनेको सूचीमा रहेको खुलेको थियो ।