काठमाण्डौ, २३ चैत्र।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र जुत्ता उत्पादक संघ नेपालले स्वदेशी जुत्ता चप्पलको व्यापार बिस्तार गर्ने बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
वाणिज्य मन्त्रालयको सय दिने कार्यक्रम अन्तरगत केन्द्र र संघले आज नेपालमा उत्पादन हुने छाला तथा कपडाका जुत्ता चप्पलको व्यापार राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कसरी बिस्तार गर्ने भन्ने बिषयमा छलफल गरेका हुन् ।
अन्तरक्रियामा नेपालमा जुत्ता उत्पादनको अवस्था, यसले भोगीरहेको समस्या तथा समाधानको उपायका बारेमा व्यापक छलफल भएको थियो ।
अन्तरक्रियामा सहभागी केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले नेपाली उत्पादनको विकास बिस्तार तथा व्यापार प्रवद्र्धनमा सरकार सधै तत्पर रहने भन्दै सम्बन्धीत संघ तथा उत्पादक कम्पनीहरुले पनि सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्देशक घिमिरेले सम्बन्धीत पक्ष नै सक्रिय नभएसम्म व्यापार बिस्तारमा अरुले सहयोग गरेर मात्र उपलब्धी हासिल नहुने भएकाले सक्रिय रुपमा कार्यक्रम गर्न सम्बन्धीत संघलाई आग्रह समेत गर्नुभयो ।
यस्तै छाला जुत्ता संघका अध्यक्ष रविन श्रेष्ठले नेपाली उत्पादनले स्वदेशमा राम्रो स्थान बनाईरहेकाले बिदेशी बजारमा बिस्तार गर्न यसको गुणस्तरका बारेमा बुझाउन सक्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सहभागी व्यापार तथा निकासी प्रवद्र्धन केन्द तथा छाला जुत्ता संघ नेपालका पदाधिकारीहरुले पनि आ आफ्नो धारणा राखेका थिए ।
अन्तरक्रियामा उठेको बिषयबस्तुलाई नै समेटेर केन्द्रले स्वदेशमा उत्पादित जुत्ताको स्वदेश तथा बिदेशमा व्यापार बिस्तार तथा यसको वर्तमान अवस्था ,चुनौति र सम्भावनाका बिषयमा प्रतिवेदन तयार गर्ने छ ।
सो प्रतिवेदन वैशाख १५ सम्ममा मन्त्रालयमा पेस गर्नुपर्नेछ । नेपालमा हाल ६५ प्रतिशत बजार नेपालमै उत्पादित जुत्ता चप्पलले धानेको तंथ्याङक छ ।


