काठमाडौ १८ चैत्र । आगामी वैशाखबाट दोस्रो चरणको आन्दोलनमा जुटेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ ।
मोर्चा महासचिव महन्थ ठाकुरको निवासमा दिउँसो २ बजेपछि बस्ने बैठकमा सरकारसँगको वार्ता प्रक्रिया र भावी रणनितिका विषयमा छलफल हुने बताइएको छ । आफूहरुको माग पूरा गराउन सरकारलाई बैशाखसम्मको अल्टिमेटम दिएको मोर्चाले त्यसपछि पनि माग पूरा नभए राजधानीकेन्द्रित कडा आन्दोलन गर्ने जनाएको छ ।
आमहडताल र सिमाकेन्द्रित आन्दोलनको सर्वत्र विरोध भएपछि मोर्चाले गत माघ २५देखि आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो ।
आजको बैठकमा बैशाखसम्ममा पनि सरकारले आफूहरुको माग पूरा गराउन अग्रसरता नदेखाए कसरी अघि बढ्ने विषयमा छलफल हुने संघिय समाजवादी फेरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनु भयो । प्रदेश सिमांकनमा असन्तुष्टी जनाउदै आएको मोर्चाले एक मधेश एक प्रदेशको मागलाई अघि बढाउदै आएको छ ।