मन्त्रीलाई रुवाउने फिल्म यस्तो छ

मन्त्रीलाई रुवाउने फिल्म यस्तो छ

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, १७ चैत ।

नेपाल कृषिप्रधान देश हो । यहाँका करिब ८० प्रतिशत जनता कृषि पेसामा आश्रित छन् । कृषकका लागि पशु चौपाया अमूल्य सम्पत्ति हुन् ।
त्यसैले त एउटा पशु चौपायाको मरणले पनि गरिब किसानको आर्थिक अवस्थामा अपुरणीय क्षति हुन पुग्छ । हालै प्रदर्शनमा आएको चलचित्र ‘राहदानी’को कथावस्तुको उठान डब्बु क्षेत्रीले यसै सेरोफेरोबाट गर्नुभएको छ । जहाँ एउटा किसानले ऋण गरेर किनेको जर्सी गाई मर्छ । चलचित्रमा त्यही गाईको मृत्युले निम्त्याएको पिरोलोले सो परिवारलाई दुर्दशामा पु¥याएको कथा छ ।

रङ्ग पत्रकार क्षेत्रीले पहिलोपटक निर्देशन गरेको यही चलचित्र हेर्न गत चैत ११ गते हलसम्म पुग्नुभएका कृषिमन्त्री हरिबोल गजुरेल प्रतिक्रिया दिने क्रममा भक्कानिएर रुनुभएको थियो । गरिब किसानले किनेको गाई मरेको कथाले आफ्नो हृदय छोएको उहाँले बताउनुभयो ।

मूलतः रोजगारीका लागि खाडीमुलुक जाने नेपाली युवाको वास्तविक कथालाई चलचित्रले पस्किएको छ ।
कथा यस्तो छ– घरमा भएको सामान्य गाईको दूध बेचेर जीविका चलाउने परिवारमा जन्मिएको राजबहादुर क्षेत्रीलाई जर्सी गाई किनेर धेरै दूध उत्पादन गर्ने सोच आउँछ र महँगो ऋणमा गाई किन्छ । गाई अचानक मरेपछि ऋण तिर्न अरु उपाय नभएर अकस्मात् दलालमार्फत राज विदेशिन्छन् ।
आफ्नो अध्ययन छोडेर बाध्यताले विदेश गएको राज ठगिएको, दुर्घटनामा परेर निधन भएको र त्यसपछि परिवारको विचल्लीमा परेको कथाले दर्शकलाई आँसु झार्न बाध्य गराउँछ । छोराको लास नेपालसम्म ल्याउनु उनीहरुले कस्तो दुःख भोगे चलचित्रले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
लक्ष्मीप्रसाद ढकालले निर्माण गरेको चलचित्रको कथा निर्देशन क्षेत्री स्वयमले गर्नुभएको हो । क्षेत्रीका अनुसार उहाँले उहाँकै पारिवारिक सेरोफेरोमा घटेका सत्य घटनालाई कथाको माध्यम बनाउनुभएको हो ।

हचुवामा विदेशिएर दुःख पाएका आफ्नै नातेदारकोे कथाले छोएको त्यसमा पनि एक आफन्त विदेशमा बित्दा लास ल्याउन आफैँले धेरै कठिनाइ भोगेकाले व्यावसायिकताभन्दा माथि उठेर जनचेतनाका लागि चलचित्र बनाएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “सीप नसिकी जथाभावी वैदेशिक रोजगारीमा जाँदा जोखिम काममा परेर दैनिक पाँचदेखि १५ युवाको विमानस्थलमा लास आइरहेको छ, म यो चलचित्रमार्फत युवालाई सन्देश दिन चाहन्छु, विदेश सोचेजस्तो सजिलो छैन भनेर ।”

‘राहदानी’ हेरेपछि धेरै युवाले अबदेखि विदेश जान्न भनेर राहदानी च्यातेको दृष्टान्त दिँदै क्षेत्रीले भन्नुभयो “अबदेखि विदेश गएर ठगिँदै नेपाली रुन नपरोस्, यही रोजगारी सिर्जना गरौँ ।”

‘डकुड्रामा’ शैलीको उक्त चलचित्रमा मुख्यपात्र ‘राज’को भूमिकामा रहेका अशोक रिजालले जीवन्त अभिनय गर्नुभएको छ । त्यस्तै, दयाहाङ राई, नवीन लम्साल, रुपा खनाल, विनिता घिमिरे, सिर्जना सुब्बा आदि कलाकारको अभिनयसमेत प्रशङ्सायोग्य नै छ ।

पर्दामा सहरीया युवा विद्यार्थीको भूमिकामा रहेर गाउँलेलाई सक्दो सहयोग गरेका कलाकार लम्साल चलचित्र खेलेको प्रभाव वास्तविक जीवनमा लागू गर्न आफू लालायित रहेको बताउनुहुन्छ ।

गत सोमबार चलचित्र घरमा भेटिएका उहाँले भन्नुभयो, “सहरीया स्वार्थी हुन्छन्, गाउँलेलाई सहयोग गर्दैनन् भन्ने छ, तर यो चलचित्रमा मेरो भूमिकाले त्यसको खण्डन गरेको छ, अब म वास्तविक जीवनमा पनि विदेशमा दुःख पाएकालाई सहयोग गर्न चाहन्छु ।’’

चलचित्र हेर्न हलसम्म पुगेका केही दर्शकले भने चलचित्रको कथा उत्कृष्ट भए पनि निर्देशन त्यसअनुरुप हुन नसकेको प्रतिक्रिया दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी